२०८३ भाद्र ११ गते बिहिवार

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि विदुरतर्फ प्रस्थान

काठमाडौं ११ भदौ ।  प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि सहभागी हुनुहुन्छ।

प्रधानमन्त्री र मन्त्रीको टोली आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढीबाट प्रभावित प्रमुख क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेको हो। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सक्रिय रहँदै आउनुभएको छ। बाढीको क्षतिको जानकारी पाएलगत्तै उहाँले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको थियो।

आजको स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित विदुर तथा आसपासका बस्तीमा पुगेको मानवीय तथा भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गर्नुहुनेछ।  साथै, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग प्रभावित नागरिकको उद्धार, राहत वितरण, पुनर्स्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। बाढीका कारण विभिन्न स्थानमा सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारमा क्षति पुगेको अवस्थामा प्रधानमन्त्रीको स्थलगत निरीक्षणलाई प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्ने र तत्काल राहत तथा पुनर्निर्माणका प्राथमिकता निर्धारण गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत पुर्‍याउन, जोखिममा रहेका नागरिकको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन र क्षतिग्रस्त पूर्वाधारलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने बताइएको छ। समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा विदुर तथा आसपासका प्रभावित क्षेत्रको निरीक्षण गर्नुहुनेछ। स्थलगत अवस्थाको जानकारी लिएपछि राहत, पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणका कामलाई थप गति दिने सरकारको तयारी रहेको छ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया