२०८३ कार्तिक २१ गते शनिवार

परम्परा,मानबता र हाम्रो सांस्कृतिक बिरासत

सन्दर्भ : काग तिहार
फोटो फाईल

तिहार केवल एउटा धार्मिक अनुष्ठान वा कर्मकाण्डहरूको शृङ्खला मात्रै होइन। यसलाई मानव सभ्यताको प्रकृतिसँगको सम्बन्ध, जीवजन्तुप्रतिको आत्मीयता, सामाजिक सहअस्तित्व र सांस्कृतिक विकासको ऐतिहासिक यात्राका रूपमा पनि बुझ्न आवश्यक छ। पूर्वीय सभ्यताको विकासक्रमलाई नियाल्ने हो भने प्रकृति र मानव जीवनबीचको अन्योन्याश्रित सम्बन्धका अनेकौँ सांस्कृतिक अभिव्यक्ति भेटिन्छन्। वनपूजा, जलपूजा, सूर्यपूजा, अग्निपूजा र पृथ्वीप्रतिको सम्मानदेखि काग, कुकुर, गाई, गोरुजस्ता जीवजन्तुप्रति गरिने आदर र सम्मानसम्मका परम्पराहरू यसका उदाहरण हुन्।

यी परम्पराहरूको पछाडि तत्कालीन मानव समाजको जीवनशैली, प्रकृतिमाथिको निर्भरता, कृषि प्रणाली, पर्यावरणीय चेतना, जीवजन्तुको उपयोगिता र सामूहिक जीवनका अनुभवहरू जोडिएका छन्। आजको काग तिहारलाई नै हेरौँ। कागलाई सन्देशवाहक र प्रकृतिको एउटा महत्त्वपूर्ण जीवका रूपमा सांस्कृतिक प्रतीक बनाइएको छ। त्यसैगरी कुकुरप्रति गरिने सम्मानले मानिसको सुरक्षा र साथमा उसको योगदानलाई स्मरण गराउँछ। गाईप्रतिको सम्मानले कृषि, पोषण र ग्रामीण अर्थतन्त्रसँग जोडिएको ऐतिहासिक सम्बन्धलाई झल्काउँछ भने गोरु पूजाले कृषि सभ्यता र श्रमको महत्त्वलाई अभिव्यक्त गर्छ। अर्थात्, यी पर्व र परम्परालाई केवल पूजा, प्रसाद र धार्मिक विश्वासको साँघुरो घेराभित्र राखेर हेर्नु पर्याप्त हुँदैन। तिनको सामाजिक, आर्थिक, ऐतिहासिक, पर्यावरणीय र मानवशास्त्रीय पक्षसमेत केलाउनुपर्छ।

संस्कृति भनेको के हो ?

कुनै पनि समाजको संस्कृति त्यस समाजको सामूहिक स्मृति, जीवनपद्धति, भाषा, कला, साहित्य, दर्शन, मूल्य, मान्यता, परम्परा, श्रम, उत्पादन प्रणाली र सभ्यताको विकासक्रमको प्रतिबिम्ब हो। संस्कृति धर्मभन्दा व्यापक हुन्छ। धर्म, सम्प्रदाय र पन्थहरू संस्कृतिका केही अभिव्यक्ति वा प्रभावकारी अङ्ग हुन सक्छन्, तर सम्पूर्ण संस्कृतिलाई धर्मको पर्याय बनाउनु उचित हुँदैन। संस्कृति कुनै एक धर्म, सम्प्रदाय वा पन्थको निजी सम्पत्ति पनि होइन। यो पुस्तौँपुस्ताको अनुभव, अभ्यास, अन्तरघुलन र सामाजिक विकासबाट निर्माण भएको सामूहिक विरासत हो।

यहीँनेर हाम्रो समाजमा दुईथरी अतिवादी बुझाइ देखिन्छन्। एकथरी मानिसहरू संस्कृतिका नाममा स्थापित हरेक परम्परा, रूढि, अन्धविश्वास र विभेदकारी अभ्यासको समेत बचाउ गर्न खोज्छन्। उनीहरूका लागि परम्परामाथि प्रश्न उठाउनु नै संस्कृतिमाथिको आक्रमण हुन्छ। अर्काथरी मानिसहरू रूढि, अन्धविश्वास र कुरीतिको विरोध गर्ने नाममा आफ्नै समाजको ऐतिहासिक विरासत, सांस्कृतिक पहिचान र सामूहिक स्मृतिसँग समेत सम्बन्धविच्छेद गर्न खोज्छन्। उनीहरूलाई लाग्छ, पुरानो परम्परासँग जोडिएको हरेक कुरा अस्वीकार गर्नु नै क्रान्तिकारी चेतना हो।

तर के यी दुवै बुझाइ सही हुन् ?

कुनै परम्परा पुरानो हुँदैमा स्वतः वैज्ञानिक र न्यायपूर्ण हुँदैन। त्यसैगरी कुनै परम्परा पुरानो हुँदैमा स्वतः त्याज्य र प्रतिगामी पनि हुँदैन। हामीले परम्परालाई विवेकको कसौटीमा जाँच्नुपर्छ। जसले मानवता, प्रकृतिको संरक्षण, सामाजिक सद्भाव, सहअस्तित्व र सामूहिक हितलाई प्रवर्द्धन गर्छ, त्यसको संरक्षण र परिष्कार गर्नुपर्छ। जसले विभेद, शोषण, अन्धविश्वास, अमानवीयता र असमानतालाई निरन्तरता दिन्छ, त्यसको आलोचना र रूपान्तरण गर्नुपर्छ।

क्रान्ति भनेको आफ्नै जरा काट्नु होइन, जरामा पलाएका विकृति र विसङ्गतिहरूको शल्यक्रिया गर्नु हो। संस्कृतिको संरक्षण गर्नु भनेको हरेक पुरानो मान्यता जोगाइराख्नु होइन। यसको अर्थ उपयोगी र जीवनोपयोगी पक्षलाई निरन्तरता दिँदै समयसापेक्ष परिमार्जन गर्नु हो। संस्कृतिको आलोचना गर्नु भनेको त्यसको अस्तित्व नै अस्वीकार गर्नु पनि होइन। बरु आलोचनात्मक चेतनाले संस्कृतिलाई अझ जीवन्त, मानवीय र समावेशी बनाउँछ।

आजको विज्ञान र प्रविधिको युगमा हामीले कागलाई पूजा गर्दैमा प्रकृतिको संरक्षण हुँदैन, कुकुरलाई माला लगाउँदैमा पशुप्रतिको दायित्व पूरा हुँदैन र गाईको पूजा गर्दैमा पशुकल्याण सुनिश्चित हुँदैन। पूजा र प्रतीकात्मक सम्मानसँगै तिनको जीवन, संरक्षण र अधिकारप्रतिको व्यावहारिक जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण छ। हामीले चाडपर्वलाई अन्धअनुकरणको विषय होइन, इतिहास, समाज, प्रकृति र मानव सभ्यताको विकासक्रम बुझ्ने अवसरका रूपमा लिन सक्नुपर्छ।

अन्ततः प्रश्न यति मात्रै हो—हामी आफ्नो संस्कृति र सभ्यतालाई विवेकपूर्ण ढङ्गले बुझ्न चाहन्छौँ कि पूर्वाग्रहको चस्माबाट मात्रै हेर्न चाहन्छौँरुन त संस्कृतिका नाममा अन्धविश्वासको संरक्षण, न त क्रान्तिका नाममा सांस्कृतिक जरा उखेल्ने अहङ्कार। हामीलाई चाहिएको हो—आलोचनात्मक चेतना, वैज्ञानिक दृष्टिकोण, मानवीय मूल्य र सांस्कृतिक आत्मबोध। किनकि सभ्यता आफ्नो अतीतलाई अन्धभक्तिपूर्वक पछ्याएर मात्रै विकसित हुँदैन, न त अतीतलाई पूर्णतः अस्वीकार गरेर नै। आफ्नो इतिहासलाई बुझ्ने, वर्तमानलाई विवेकपूर्ण ढङ्गले विश्लेषण गर्ने र भविष्यलाई अझ मानवीय बनाउने क्षमताबाट सभ्यताको वास्तविक विकास हुन्छ। संस्कृतिलाई बुझौँ, परम्परालाई केलाऔँ, विकृतिलाई बदलौँ र मानवीय विरासतलाई समृद्ध बनाऔँ।

    लेखक : राम बहादुर जिसी तुलसीपुर ६ दाङ, 

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।