२०८३ भाद्र २५ गते बिहिवार

दाङका अनिल अझै बेपत्ता: घरमा अन्न छैन: अपांग बुवाको एउटै आशा–‘छोरा फर्किएर आउँछन्’

दाङ,२४ भदौ । दाङको राप्ती गाउँपालिका–६ बगरापुरका २४ वर्षीय अनिल चौधरी भोटेकोशी बाढीमा बेपत्ता भएको १५ दिन बितिसक्दा पनि परिवारको सम्पर्कमा आएका छैनन्। रसुवाको टिमुरे हाइड्रोपावरमा मजदुरका रूपमा कार्यरत अनिल गत चैतमा कामका लागि घरबाट गएका थिए। भदौ १० गते विनाशकारी बाढी आउनुभन्दा अघिल्लो दिन मात्रै परिवारसँग फोनमा कुरा गरेका उनी त्यसपछि बेपत्ता छन्। अनिलका अपांग बुवा परशुराम चौधरी र वृद्ध आमासहित चार जनाको परिवार अहिले आर्थिक संकटमा छ। घरबासबाहेक सम्पत्तिको नाममा केही नभएको र घरमा खाने अन्नसमेत सकिएपछि परिवारले सहयोगको अपिल गरेको हो।

‘अझै आशा छ, छोरा फर्किएर आउँछ,’ आँसु झार्दै बुवा परशुरामले भने। दाइ रविन चौधरीले भाइको खोजीका लागि रसुवा पुगेर विभिन्न ठाउँमा खोजी गरे पनि पत्ता लगाउन नसकेको बताए। भाइको खोजी असफल भएपछि घर फर्किएका रविनमाथि अहिले अर्को प्रश्न तेर्सिएको छ—बुवा आमाको हेरचाह गर्ने कि परिवार पाल्न रोजगारीका लागि बाहिर जाने? “अब म कमाउन जाऊँ कि बुवा–आमालाई स्याहारेर बसूँ?” रविनले आँखाभरि आँसु पार्दै प्रश्न गरे। चार जनाको परिवार अहिले आर्थिक अभाव र अनिश्चित भविष्यको बीचमा छ। घरमा भएको अन्न सकिन थालेपछि उनीहरूले गाउँमै रहेको सहारा दिव्यश्री संस्थाका अध्यक्ष प्रदीपकुमार चौधरी र वडा अध्यक्ष दीपककुमार चौधरीसँग सहयोगका लागि अपिल गरे। परिवारको अवस्था बुझेपछि सहारा दिव्यश्री संस्थाले तत्काल गाउँमा राहत संकलन अभियान सञ्चालन ग¥यो। गाउँलेहरूले आफ्नो क्षमताअनुसार खाद्यान्न, तरकारी तथा नगद सहयोग गरे। संस्थाले पनि आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय ग¥यो।

बुधबार संस्थाका प्रतिनिधिहरू पीडित परिवारकै घरमा पुगे। उनीहरूले राहत सामग्रीसहित नगद सहयोग हस्तान्तरण गरे। विपद्को पीडामा रहेका परिवारका लागि त्यो सहयोग केवल खाद्यान्न र रकम थिएन, संकटका बेला गाउँले साथमा छन् भन्ने भरोसा पनि थियो। संस्थाबाट ११ हजार १ सय ११ रुपैयाँ र गाउँबाट संकलित ६० हजार ४ सय ६५ रुपैयाँ नगद सहयोग गरिएको छ। त्यसैगरी करिब ६५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य सामग्री पनि परिवारलाई हस्तान्तरण गरिएको संस्थाका सदस्य असलेक चौधरीले जानकारी दिए। उनका अनुसार राहतमा ७ सय केजी चामल, १ क्विन्टल धान, ९० केजी दाल, ८६ केजी नुन, ८ लिटर तेल, ५५ केजी आलु, ११ केजी बेसार, २० केजी तरकारी, ३ थान नयाँ कपडा, ३.५० केजी सरफ र १५ केजी पिठो सहयोग गरिएको छ। राहत पाएपछि परिवारलाई केही समयका लागि चुलो बाल्ने आधार त मिलेको छ। तर अनिलको खोजी भने अझै अधुरै छ।

घरको कुनामा बसेका परशुरामको आँखाले अझै बाटो कुरिरहेको छ। हरेक आवाजमा उनलाई छोरा आएको हो कि जस्तो लाग्छ। बाहिर कसैले बोलाउँदा कान ठाडा हुन्छन्। बाटोमा मानिस देख्दा आँखा उतै पुग्छन्। बाढीले कति घर उजाड्यो, कति परिवारका प्रियजन खोस्यो, त्यसको हिसाब अझै पूरा भएको छैन। तर बरापुरको यो परिवारका लागि बाढीको पीडा एउटा घटनामा सीमित छैन। त्यसले घरको कमाउने हात खोसेको छ, अपांग बुवाको सहारा खोसेको छ र परिवारको भविष्य नै अनिश्चित बनाइदिएको छ। अनिल जीवित छन् कि छैनन् भन्ने यकिन जानकारी नहुँदा परिवार शोक मनाउन पनि सकेको छैन। मृत्युको पुष्टि भएको छैन, फर्किने सम्भावनाको आशा पनि मरेको छैन। त्यसैले परशुराम अझै छोराको बाटो हेरिरहेका छन्। “छोरा फर्किएला भन्ने आशा मारेको छैन,” उनी भन्छन्। सायद यही आशाले उनको कमजोर शरीरलाई थामेको छ। भोटेकोशीको बाढीले अनिललाई कहाँ पु¥यायो, त्यो अझै रहस्यकै विषय छ। तर बरापुरको त्यो सानो घरमा भने उनको प्रतीक्षा प्रत्येक दिन उस्तै छ।

प्रकाशित मिति : २०८३ भाद्र २४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।