दाङ, २५ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न मुद्दामा अदालतबाट फैसला भई लामो समयदेखि फरार रहेका ३१ जना प्रतिवादीलाई पक्राउ गरेको छ। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले भदौ १५ गतेदेखि भदौ २४ गतेसम्म फरार प्रतिवादीहरूको खोजी अभियान सञ्चालन गरेको थियो।
सो क्रममा विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ३१ जना प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत घोराहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट अदालतले तोकेको ४० हजार ३२५ रुपैयाँ जरिवाना असुल गरिएको छ। साथै पक्राउ परेकामध्ये ३ वर्ष ३ महिनासम्म कैद सजाय तोकिएका प्रतिवादीहरू समेत रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले अदालतबाट फैसला भई फरार रहेका अन्य प्रतिवादीहरूको समेत खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।