देउखुरी २५ भदौ । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका सन्दर्भमा सुझाव तथा पृष्ठपोषण संकलन कार्यक्रम बिहीबार राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई समयसापेक्ष, व्यवहारिक र जीवनोपयोगी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
कार्यक्रममा सहभागी वक्ताहरूले पाठ्यक्रमले केवल किताबी ज्ञानमा सीमित नरही विद्यार्थीलाई परिवार, समाज र राष्ट्रप्रतिको दायित्वबोध गराउने तथा व्यवहारिक जीवनका लागि सक्षम बनाउने खालको हुनुपर्ने सुझाव दिएका छन्। विद्यार्थीमा अनुशासन, नैतिकता, सामाजिक उत्तरदायित्व, सिर्जनशीलता र आत्मनिर्भरता विकास गर्ने विषयवस्तुलाई पाठ्यक्रममा प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ थियो। त्यस्तै, बदलिँदो समय र प्रविधिको विकाससँगै व्यावहारिक ज्ञान, सीपमूलक शिक्षा तथा श्रमप्रतिको सम्मानलाई पाठ्यक्रमको महत्वपूर्ण हिस्साका रूपमा समेट्नुपर्ने सुझाव दिइएको छ।
शिक्षाले विद्यार्थीलाई जागिर खोज्ने मात्र नभई सीप सिकेर आफैं रोजगारी सिर्जना गर्न सक्ने बनाउनेतर्फ केन्द्रित हुनुपर्ने सहभागीहरूको धारणा थियो। पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलकी सदस्य रिचा न्याैपानेको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कमलापति चाैधरी, प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुवर, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव बेगम केसी, शिक्षा विकास निर्देशनालयका निमित्त महानिर्देशक हरिलाल अर्याल लगायतकाका वक्ताहरूले आ- आफ्नो विचार तथा सुझाव राख्नु भएको थियोे ।
कार्यक्रमको सहजीकरण पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश पौडेलले गरेका थिए भने सञ्चालन शाखा अधिकृत शिवराज पोख्रेलले गरेका थिए। कार्यक्रममा शिक्षा निर्देशनालय, सामाजिक विकास मन्त्रालय, स्थानीय शिक्षा समिति, गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत, विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थी, सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिमूलक सहभागीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूबाट प्राप्त सुझाव तथा पृष्ठपोषणलाई राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका क्रममा समेटिने जनाइएको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।