तुलसीपुर १७ भदौ । तुलसीपुरस्थित राप्ती लाइफ केयर नर्सिङ कलेजमा नयाँ विद्यार्थीको स्वागत तथा अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गर्ने उद्देश्यले ‘स्वागत तथा फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ। राप्ती लाइफ केयर हस्पिटल प्रालिको स्टुडेन्ट काउन्सिलको आयोजनामा भएको कार्यक्रममा पिसिएल नर्सिङ तथा एचएका प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा तेस्रो वर्ष पूरा गरेका विद्यार्थीलाई बिदाइ गरिएको हो।

विद्यार्थी विष्णु कराराको अध्यक्षता तथा राप्ती लाइफ केयर हस्पिटल प्रालिका अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले मानव सेवाभन्दा ठूलो धर्म अरू केही हुन नसक्ने बताउँदै स्वास्थ्य क्षेत्र रोजेका विद्यार्थीले व्यावसायिक दक्षतासँगै सेवाभावलाई पनि आफ्नो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। स्वास्थ्य सेवा अत्यन्तै संवेदनशील र जिम्मेवार पेशा भएकाले बिरामीको उपचारसँगै उनीहरूप्रति मानवीय व्यवहार गर्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले विद्यार्थीलाई बिदाइलाई अन्त्यका रूपमा नभई जीवनको नयाँ यात्राको सुरुवातका रूपमा लिन आग्रह गर्नुभयो। स्वास्थ्य क्षेत्रमा प्रवेश गर्ने क्रममा ज्ञान र सीपसँगै मानवीय संवेदना, अनुशासन र जिम्मेवारीलाई आत्मसात् गर्नुपर्ने उहाँले बताउनुभयो। राप्ती लाइफ केयर हस्पिटलका निर्देशक जीवन भण्डारीले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले संस्थाले नर्सिङ तथा एचए अध्ययन सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले अन्य पेशाको तुलनामा स्वास्थ्य सेवा मानव जीवनसँग प्रत्यक्ष जोडिएको र सेवाको दृष्टिले अत्यन्त महत्वपूर्ण पेशा भएको बताउनुभयो।
अर्का निर्देशक दोर्ण वलीले स्वास्थ्यकर्मीको मुख्य दायित्व उपचारमा मात्र सीमित नभई बिरामीप्रति मानवीय सेवाको भावना राख्नु पनि रहेको उल्लेख गर्नुभयो। विभिन्न महामारी, विपद् तथा संकटका समयमा नर्सिङ क्षेत्रका जनशक्तिले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उहाँले विद्यार्थीलाई सेवामुखी सोचका साथ आफ्नो पेशागत यात्रा अघि बढाउन आग्रह गर्नुभयो।
कार्यक्रममा शिक्षक प्रमोद न्यौपाने र गणेश अधिकारीले राप्ती लाइफ केयरले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक ज्ञान, नेतृत्व क्षमता तथा व्यक्तित्व विकासमा समेत जोड दिँदै आएको बताउनुभयो। विद्यार्थी रेशु थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी तिलक बुढाथोकी र लक्ष्मी श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अस्पतालका पदाधिकारीहरूको सहभागिता रहेको थियो।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।