बुटवल, चैत ९ — “पानी छैन त जिन्दगानी छैन” भन्ने सन्देशका साथ आज मार्च २२ मा विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी अन्तर्राष्ट्रिय पानी दिवस मनाइँदै छ। सन् १९९३ देखि सुरु भएको यस दिवसको उद्देश्य सबैका लागि सुरक्षित र स्वच्छ पिउने पानीको सुनिश्चितता गर्नु हो।
सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा आयोजित संयुक्त राष्ट्र सङ्घको पर्यावरण तथा विकास सम्बन्धी भेलाले पानी दिवस घोषणा गरेको थियो। त्यसयता हरेक वर्ष यस दिन पानीको संरक्षण, समान वितरण र मितव्ययी प्रयोगबारे बहस हुँदै आएको छ।
यद्यपि २१औँ शताब्दीमा प्रवेश गरिसक्दा पनि विश्वभर स्वच्छ पानीको समान पहुँच ठूलो चुनौतीकै रूपमा रहेको छ। नेपाल जस्तो जलश्रोतमा धनी देशमा समेत धेरै ठाउँमा सुरक्षित पिउने पानीको अभाव देखिन्छ। दूषित पानीका कारण जन्डिस, टाइफोइड र झाडापखाला जस्ता रोग फैलिरहेका छन्।
विज्ञहरूका अनुसार पानी र इन्धनबीच घनिष्ठ सम्बन्ध रहेको छ भने शुद्ध पानी वितरणमै विश्वको ठूलो ऊर्जा खर्च हुने गरेको छ। बढ्दो सहरीकरणले कुवा, पँधेरो र पोखरी जस्ता परम्परागत स्रोतहरू मासिँदै गएका छन्। यस सन्दर्भमा पानीको संरक्षण, स्रोतको दिगो व्यवस्थापन र दुरुपयोग नियन्त्रणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।




