२०८२ कार्तिक २१ गते शुक्रवार

तुलसीपुरमा दुई नाबालिकासहित आमाको जीवन संकटमा !

घोराही,२० कात्तिक । “मेरा छोरीहरू भोकै छन्, कसैको माया छैन, अब म कहाँ जाउँ ?” — तुलसीपुर–६ की १९ वर्षीया पुष्पा गिरीले यही शब्दहरू टुटेको स्वरमा उच्चारण गर्दा उपस्थित सबै पत्रकारहरू भावुक बने । हिजो घोराहीमा आयोजित पत्रकार सम्मेलनमा पुष्पाले आँसु झार्दै आफ्नो र दुई नाबालिका छोरीको जीवन सुरक्षाको माग गर्नुभयो । उहाँले श्रीमान, र सासुससुराबाट निरन्तर हिंसा, अपहेलना र धम्की सहनु परेको बताउँदै अब “जीवनभन्दा पनि छोरीहरूको सुरक्षा ठूलो कुरा भएको” बताउनुभयो ।

२०७८ मंसिरमा प्रेम विवाह गरेकी पुष्पाले दुई वर्ष नपुग्दै सबै कुरा गुमाउनुभयो— सहारा, सम्मान र परिवारको माया । विवाहको एक वर्षपछि घरबाट निकाला गरिएकी पुष्पा अहिले माइती र भाडाको कोठामा निसासीएको जीवन बाँच्न बाध्य हुनुहुन्छ । “श्रीमानले खर्च दिन छोडे, छोरीहरू आफ्ना होइनन् भने, जन्मदर्ता छैन ।,” उहाँको आवाज थरथर काँप्थ्यो ।

वैदेशिक रोजगारीका लागि कुवेत गएका श्रीमान रतन गिरीले विदेशबाटै फोन गरी मार्ने धम्की दिएको पीडितको आरोप छ । यही कार्तिक १४ गते उनले कुटपिट गर्दा टाउकोमा टाँका लगाउनुपरेको पुष्पाले बताइन् । “म न्याय खोज्दै हिँडिरहेकी छु, तर न श्रीमानले बुझ्छन् न सासु ससुराले माया गर्छन् ,“ उहाँले भन्नुभयो ।

भोकभोकै दुई छोरीको मुख हेर्दा मन पोल्ने अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “चामल छैन, छोरीहरू भोकले रुन थालेपछि मन थाम्न सक्दिनँ । कहिलेकाहीँ त पानी खुवाएर सुताउँछु । त्यो घरमा खुट्टा टेक्ने त के कुरा होटेलमा अरुले गर्ने काम म गर्छु मलाई काम दिनुस भन्दा पनि काम पाइन ।”

चरम घरेलु हिंसाकाका कारण गत भदौमा मानसिक यातनाले थिचिएर उहाँले विष सेवन गरी आत्महत्या गर्ने प्रयास पनि गर्नुभयो । “म मर्न खोजेँ, तर तर छरछिमेकका दिदीबहीनीहरुले उपचार गरेर बचाउनुभयो ।” उहाँले भन्नुभयो ।

पुष्पाका ससुरा अमर गिरी तुलसीपुर–घोराही सडकमा ‘अमर रेष्टुरेन्ट’ सञ्चालन गर्नुहुन्छ । आर्थिक हैसियत हुँदाहुँदै पनि उहाँले बुहारी र नातिनीहरूलाई घरबाट निकालेको स्थानीयले बताएका छन् । एक छिमेकीका अनुसार, “आमा विष खाएर अस्पतालमा हुँदा पनि ती ससुराले नातिनीहरूको हेरचाह गरेनन्, यो धेरै पीडादायी हो ।”

विवाह दर्ता र छोरीहरूको जन्मदर्ताको माग गर्दै पुष्पाले राज्य र समाजसँग अपिल गर्नुभएको छ—“म न्याय चाहन्छु, मेरो जीवन र मेरा छोरीहरूको सुरक्षा चाहन्छु ।”

‘उहाँरु आर्थिक रुपले सम्पन्न र राजनीतिक पहुँच भएको परिवार हो । म जहाँ गएर मेरा पिडा पोख्छु त्यही मेरा आवाजहरु त्यही दबाउने काम गरिन्छ । मेरो पक्षमा बोलिदिने माइतीपक्षबाट कोही पनि छैन । किनकी बुवाआमा अहिले भारतमा ज्यालामजदुरी गरेर आफ्नै ज्यान पाल्दै र उपचार गर्दै आउनु भएको छ । रोगले थलापरेका बुवाआमाले नेपालमा आएर बोल्न सक्ने अवस्था छैन । मेरो जिवन वर्वाद पार्नेले अहिले आर्थिक रुपले तुलना गरेकै कारण महिलाई चरम हिंसा गरेर पञ्छाउन खोजिएको छ ।’ पुष्पाले भन्नुभयो ।

दुई नाबालिका सहित एक युवतीको यस्तो पीडालाइ कम गर्न तपाँइ हाम्रो सानो सहयोगले पनि यी दुई निर्दोष छोरी र आमाको जीवन उज्यालो हुन सक्छ भने—आउनुस्, सहानुभूति मात्र होइन, सहयोगको हात पनि फैलाऔँ । त्यसका लागि पिडित पुष्पालाई ९७०१५५९६३९ सम्पर्क गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया