२०८२ कार्तिक २० गते बिहिवार

चप्पलले पत्ता लाग्यो मामा भान्जाको ‘अपराधकर्म’

काठमाडौँ । सुन बेच्ने बहानामा झापामा एक युवकको अपहरण गरी हत्या गरिएको छ। हत्यामा संलग्न मामा–भान्जा पक्राउ परेका छन्। अपहरणपछि हत्या गर्ने योजनामा संलग्न शिवसताक्षी नगरपालिका–१० का २७ वर्षीय सुनील साह र २३ वर्षीय राहुल साहलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। प्रहरीका अनुसार दुवैजना मृतक ३३ वर्षीय सरोज शर्माका छिमेकी हुन्। शर्मा काठमाडौंस्थित एक आईटी कम्पनीमा कार्यरत थिए र दशैं–तिहार मनाउन केही दिनका लागि आफ्नै घर फर्किएका थिए।

प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार दशैंका दिनहरूमा शर्मा र मामा–भान्जाबीच सुन किनबेचबारे कुरा भएको थियो। शर्माले सस्तोमा सुन पाइए आफूले किन्ने र काठमाडौंका साथीहरूलाई पनि बिक्री गरिदिने बताएपछि मामा–भान्जा लोभमा परे। त्यसपछि दुबै जनाले अपहरण गरेर पैसा लुट्ने र फिरौती असुल्ने योजना बनाए। योजनाअनुसार ९ कात्तिकमा उनीहरूले शर्मालाई “सुन गाडेर राखेका छौं” भन्दै अर्जुनधारा–४, दहिझोडा सामुदायिक वनमा बोलाए। शर्मा आफ्नै किया सेल्टस कार लिएर त्यहाँ पुगे। तर सुन त कहाँ थियो र ! त्यही ठाउँमा मामा–भान्जाले हथौडाले टाउकोमा प्रहार गरेर उनको हत्या गरे।

शव गाडेर कार जलाउनेसम्म पुगे अपराधी

हत्या भएपछि मामा–भान्जाले शर्माको शव गाडीमा राखेर झापा गाउँपालिका–५, बिरिङ खोलाको पुलमुनी गाडे। शव गाडेपछि उनीहरूले कारलाई मेचीनगर–१३, निचाझोडा सिमसार जंगलमा लुकाए। प्रहरीले खोजी तीव्र पारेपछि पोल खुल्ने डरले १३ कात्तिकको राति सो कार जलाइदिए। कार जलाउँदा मामा सुनीलको हात पोलियो। उनले उपचारका लागि बिर्ताबजारको एउटा क्लिनिकमा पुगे र त्यहाँबाट इटहरी हुँदै विराटनगरतर्फ भागे। उनको योजना सीमावर्ती रानी हुँदै भारत प्रवेश गर्ने थियो। तर कोसी प्रदेश प्रहरीको टोलीले रानीमै पक्राउ गर्‍यो। भान्जा राहुल भने घरमै समातिए।

चप्पलबाट अपराधिसमम पुग्यो प्रहरी

डीएसपी खड्काका अनुसार कार जलेको ठाउँमा फेला परेको एक वटा चप्पलले नै प्रहरीले अपराधीको फेला पारेको सुराग दियो। त्यसपछि प्रहरीले शर्माको मोबाइल कल–डिटेल र लोकेसन ट्र्याक गर्‍यो। त्यसक्रममा घटना अघि शर्मा र मामा–भान्जाबीच लगातार सम्पर्क भएको पुष्टि भयो। मोबाइलको लोकेसनले सुनील बिर्ताबजार हुँदै इटहरीबाट विराटनगर पुगेको देखायो। त्यसपछि प्रहरीको विशेष टोली सक्रिय भयो र केही घण्टामै अपराधको सबै पाटो खुल्यो।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया