तुलसीपुर, २९ कात्तिक । दाङको घोराहीमा जुवाको खालबाट राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूसमेत पक्राउ परेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार घोराहीका दुई छुट्टाछुट्टै स्थानमा छापा मार्दा नगद ५ लाख १२ हजार ७ सय रुपैयाँसहित १७ जना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपाली कांग्रेस दाङका नेता भुपबहादुर डाँगी, घोराहीस्थित होटल माला इनका सञ्चालक ओबिन्द्र महरा, घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष तारा डाँगी र घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष धुर्व केसीसमेत रहेका छन् । वडा अध्यक्ष डाँगी नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुनुहुन्छ ।
त्यसैगरी अन्य पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १५ जानकी टोल बस्ने वर्ष ६० का केशरबहादुर पछाई, वर्ष ६४ का लुमा सिंह बस्नेत, वर्ष ६५ का निमबहादुर पुन र जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका– ५ निवासी वर्ष ३९ का हिरालाल रावत रहेको प्रहरीले जनाएको छ । प्रहरीले हिजो साँझ ६ बजे घोराही–१५ मा रहेको काँग्रेस नेता डाँगीको घरमा छापा मारेको थियो । प्रहरीले १ लाख ४ हजार ५ सय ८० रुपैयाँ र ३ गड्डी तास बरामद गरेको छ ।
त्यसैगरी प्रहरीले घोराही–१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा पनि छापा हानेको थियो । प्रहरी नायव उपरीक्षक हेमबहादुर केसीको कमाण्डमा खटिएको टोलीले जुवाको खालबाट ४ लाख ८ हजार १ सय २० रुपैयाँ र ३ गड्डी तास बरामद गरेको छ । उक्त घटनामा घरधनी बसन्त बुढाथोकीसहित नौ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा नवल सिंह डाँगी, निमबहादुर भण्डारी, तुलबहादुर खड्का, रामकृष्ण खड्का, यदुनाथ पाण्डे, हिमराज केसी, निमेश भण्डारी र चन्द्रदेव बुढा रहेका छन ्। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय घोराहीको हिरासतमा राखिएको छ ।
सार्वजनिक पद र जिम्मेवारीमाथि प्रश्न
सामान्य नागरिकदेखि राजनीतिक दलसँग आबद्ध व्यक्ति र सार्वजनिक संस्थाको नेतृत्वमा रहेका व्यक्तिसम्म जुवाको खालमा भेटिनु आफैँमा गम्भीर चासोको विषय बनेको छ । सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आफ्नो व्यक्तिगत आचरण र सामाजिक जिम्मेवारीप्रति कति संवेदनशीलता देखाएका छन् भन्ने प्रश्न पनि यस घटनाले उठाएको छ ।
यद्यपि, प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा पक्राउ परेका व्यक्तिहरूको राजनीतिक आबद्धता तथा सार्वजनिक पदबारे विस्तृत उल्लेख गरिएको छैन । दुवै घटनामा पक्राउ परेका १७ जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।