काठमाडौं, २२ कात्तिक । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आइतबार आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधन गर्दै उहाँले चाडपर्वका समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो।
महानिरीक्षक केसीले दीपावली, नेपाल संवत् तथा छठलगायतका चाडपर्वका समयमा हुन सक्ने लुटपाट, चोरी तथा अन्य आपराधिक गतिविधि रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
उहाँले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान गरी आवश्यक प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो। साथै, आ–आफ्नो जिम्मेवारी क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सम्बन्धित सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गर्न पनि आग्रह गर्नुभयो।
चाडपर्वको समयमा नागरिकको आवागमन तथा आर्थिक गतिविधि बढ्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी कर्मचारीहरू व्यावसायिक, जिम्मेवार र थप सक्रिय भएर परिचालित हुनुपर्ने उहाँको भनाइ थियो।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।