तुलसीपुर, २७ असोज । इलाका प्रहरी कार्यालय तुलसीपुरले चाडपर्व नजिकिएसंगै सुरक्षा अवस्थालाई कडा बनाउँदै लगेको छ । हिन्दु नेपालीहरुको महान पर्व दशै र तिहार नजिकिएसंगै तुलसीपुर बजारमा नागरिककको चहलपहल बढ्ने भएकाले संभावित चोरी, लुटपाट र ठगिनबाट जोगिन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।
विशेष गरि वित्तिय कारोबार हुने बैंक, आर्ईएमए, सुनचाँदीका पसल र नागरिकको बढी भिडभाड हुने सार्वजनिक क्षेत्रलाई निगरानी गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होम बहादुर पराजुलीले बताउनुभयो । प्रहरीले संकास्पद लागेमा गाडीदेखि व्यक्तीसमेतलाई खानतलासी र चेकजाँच गर्ने छ । बजार र आसपासका क्षेत्रमा मोबाइल टोली, क्यूआरटी र सादा पोशाकमा प्रहरी परिचालन गरिएको डिएसपी पराजुलीले बताउनुभयो ।
प्रहरीले आफने वरपर कतै संकास्पद गतिविधि गरेको देखिएमा प्रहरीको पैसा नलाग्ने हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन आमनागरिकलाई आग्रह गरेको छ । हरेक घटनाको जानकारी सबै भन्दा पहिला नागरिकलाई थाह हुने भएकाले समाजमा हुने अवाञ्छित कृयाकलाप न्यूनिकरणका लागि सबैको सहयोग आवश्यक रहेको पराजुलीले बताउनुभयो ।
प्रहरीले तुलसीपुरबाट जिल्ला बाहिर जाने र भित्रीने गाडीमा समेत निगरानी बढाएको छ । तुलसीपुर बजार अन्तर्गत दक्षिणमा गुम्राह चोक, पश्चिममा पातुखोलाको पुल, उत्तरतर्फ डाँडापातु र पूर्वमा हात्तिखौवा यी चार किल्ला भित्र सबैभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।









टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।