२०८३ असोज २७ गते मङ्गलवार

खगेन्द्र सुनारको अडियो प्रकरणमा छानबिनको माग, राज्यका निकाय मौन

फोटो फाईल

काठमाडौँ, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार महिलालाई अश्लील गाली र धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि विवादमा परेका छन्। घटनाको निष्पक्ष छानबिन गर्न माग भइरहे पनि राज्यका निकायले औपचारिक अनुसन्धान अघि बढाएका छैनन् भन्दै अनलाइन खबरले लेखेको छ ।

सञ्चारमाध्यममा सार्वजनिक अडियोमा एक पुरुषले महिलालाई अश्लील शब्द प्रयोग गर्दै गाली गरेको र उनका छोरालाई मार्ने धम्की दिएको सुनिन्छ। यद्यपि, उक्त आवाज सुनारकै हो भन्ने स्वतन्त्र पुष्टि हुन बाँकी छ। सुनारले भने अडियो आफ्नो नभएको र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर आवाजको नक्कल गरिएको हुन सक्ने दाबी गरेका छन्।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले यस विषयमा हालसम्म उजुरी नआएको र उजुरी परे कानुनी प्रक्रिया अघि बढ्ने बताएका छन्। राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले पनि औपचारिक उजुरी नपरेको जानकारी दिँदै पीडितले गोप्य रूपमा समेत उजुरी दिन सक्ने बताएकी छन्।

महिला आयोगकी पूर्वअध्यक्ष तथा अधिवक्ता मोहना अन्सारीले सार्वजनिक रूपमा गम्भीर विषय उठिसकेपछि सरकारले आफैँले छानबिन अघि बढाउनुपर्ने बताएकी छन्। सांसद मुछिएको विषयमा सभामुखले समेत ध्यान दिनुपर्ने उनको भनाइ छ। वरिष्ठ अधिवक्ता गान्धी पण्डितले महिला हिंसासम्बन्धी विषयमा सरकारले कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाउन सक्ने बताएका छन्।

यसैबीच, रास्वपाले केन्द्रीय अनुशासन आयोगमार्फत आन्तरिक छानबिन सुरु गरेको छ। आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार अडियोको सत्यापन तथा प्रमाण संकलन भइरहेको छ। आरोप लागेका सांसद सुनार र घटनामा नाम जोडिएकी महिलाको भनाइसमेत बुझ्ने प्रयास भइरहेको उनले बताएका छन्।

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले अडियोमा सुनिएको आवाज सुनारकै भएको प्रमाणित भए पार्टीले उनलाई संरक्षण नगर्ने स्पष्ट पारेका छन्। सुनारले पनि राज्य र पार्टीले गर्ने छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन्। अडियोको सत्यता, महिलाको सुरक्षा र आरोपको कानुनी पक्षबारे निष्पक्ष अनुसन्धान गरी तथ्य सार्वजनिक गर्नुपर्ने माग उठिरहेको छ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।