काठमाडौ, २२ कात्तिक । तिहारको यमपन्चक अन्र्तगत आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । आज कुकुर तिहारको दिनलाई ‘नरक चतुर्दशी’ पनि भनिन्छ । आज बिहानै विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान गरेर बलेको बत्ती दक्षिण फर्काएर बगाउने चलन रहेको छ । यसो गरेमा मृत्युपश्चात् नरक जानु नपर्ने धार्मिक विश्वास छ ।यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन पनि छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत समेत छ ।
यमपञ्चकको पहिलो दिन हिजो कागपूजा गरिएको थियो । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा पनि पुज्ने चलन छ । यसैगरी गाईपूजा भोलि कात्तिक २३ गते सोमबार परेको छ भने गोरुपूजा, हलितिहार, गोबद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह)पूजा कात्तिक २४ गते मंगलबार परेको नेपाल पन्चाङग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटलाई तोकेको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।