देउखुरी, ९ साउन । देउखुरीको पहाडी भेगलाई हराभरा र जडीबुटीको उत्पादन क्षेत्र बनाउने उद्देश्यले डिभिजन वन कार्यालय लमही दाङले निुशल्क रुपमा जडिबुटीको विरुवा वितरण गरेको छ । लमही नगरपालिका वडा नम्बर १ सितलापुर र राप्ती गाउँपालिका वडा नम्बर ९ देविकोटका कृषकहरुलाई विभिन्न जातका जडिबुटीका विरुवाहरु वितरण गरेको हो । कार्यालयको फोकल समुहले पहाडी क्षेत्रको अनुगमन तथा हावा पानीको मौसम अनुकुल हुने जडिबुटी खेती बारे अध्ययन गरी उक्त समुहले छनोट गरेको स्थानहरुमा उक्त जडीबुटीका विरुवा वितरण गरिएको हो ।कार्यालयले जडीबुटीका विरुवाहरु कृषकहरुको घरदैलोमा पुगेर वितरण गर्दा स्थानिय कृषकहरुले आफ्नै खेती योग्य बाझो जग्गालाई हराभरा बनाउन भनी चासो राख्दै विरुवा लिएको स्थानिय चुरे घर्तीले बताए ।
डिभिजन वन कार्यालय लमहीको आर्थिक वर्ष ०७६÷०७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पहाडी क्षेत्रमा जडीबुटी खेती विस्तार तथा प्रर्वद्धन कार्यक्रम राखेको सहायक वन अधिकृत देविप्रसाद चौधरीले बताए । पहाडी क्षेत्रका कृषकहरुले माग गरे अनुसार दालचिनी, टिमुर र सुगन्ध कोकिला जातका विरुवाहरु वितरण गरिएको हो । दुर्गम क्षेत्रका कृषकहरुको आयस्तर वृद्धि गर्ने उद्देश्यले जडीबुटी खेती सम्बन्धी अभिमुखिकरण गोष्ठी गरि लमही नगरपालिका वडा नम्बर १ सितलापुरका ३३ जना र राप्ती गाउँपालिका वडा नम्बर ९ देविकोटका ७७ जना गरि जम्मा १ सय दशजना कृषकहरुलाई उक्त विरुवा वितरण गरिएको हो । विरुवा रापेर हुर्काउने प्रतिवद्धता व्यक्त गर्ने कृषकहरुलाई विरुवा रोपन अनुदान समेत उपलब्ध गराउने भएको डिभिजन वन कार्यालय देउखुरी, लमहीका प्रमुख प्रविण विडारीले बताए । लमही नगरपालिका वडा नम्बर १ सितलापुरमा सहायक वन अधिकृत देविप्रसाद चौधरीको नेतृत्वमा एकटोली उक्त विरुवाहरु वितरण गर्दै, कार्यक्रम गरिएको हो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।