२०८३ बैशाख २१ गते सोमवार

दाङको गुरुङखोलामा लोभलाग्दो चैते धान खेती

दाङ, २१ बैशाख । देउखुरीको गुरुङखोला अहिले हरियालीले मात्र होइन, मेहनती किसानको सफल कथाले पनि चम्किएको छ। वैशाखको गर्मीबीच खेतमा हिलो पार्दै धान रोप्न व्यस्त देखिन्छन् कमान सिंह। एक हल गोरु लिएर खेत जोत्दै गरेका उनी भन्छन्—“यहाँ पानीको दुःख छैन, खोलाको पानी प्रशस्त छ। त्यसैले वर्षमा दुई बाली धान फल्छ।”

राजपुर गाउँपालिका–१ अन्तर्गत पर्ने यो क्षेत्र पहाडले घेरेको रमणीय फाँट हो, जहाँ चैते धान आकर्षक ढंगले लहलहाइरहेको छ। गुरुङखोलाको परिचय नै यहाँको शीतल वातावरण, हरियाली र निरन्तर बग्ने पानी बनेको छ। केही वर्षअघिसम्म सीमित क्षेत्रफलमा मात्र हुने चैते धान खेती अहिले विस्तार हुँदै गएको छ। पहिले चार–पाँच बिघामा सीमित खेती अहिले १० बिघाभन्दा बढी क्षेत्रमा फैलिएको छ। यसको मुख्य कारण हो—सिंचाइ प्रणालीमा सुधार।

गुरुङखोला कृषि सहकारी संस्थाका अध्यक्ष विष्णुबहादुर बुढा मगरका अनुसार, पहिले खोलाको पानी खेतसम्म ल्याउन निकै कठिन थियो। “कुलो निर्माण र सुधारसँगै अहिले खेतमा सजिलै पानी पुग्छ,” उनले बताए। “पहिले हामी चामल किनेर खान्थ्यौं, अहिले भने उत्पादन बढेर बिक्री गर्ने अवस्थामा पुगेका छौं।”

स्थानीय किसानहरूको जीवनशैलीमा आएको यो परिवर्तन उल्लेखनीय छ। लमहीबाट चामल ल्याउने दिन अब बितिसकेका छन्। अहिले भने यही गुरुङखोलाबाट उत्पादन भएको धान बजारतर्फ ढुवानी हुन थालेको छ। सिंचाइको सुविधा, मेहनती किसान र उपयुक्त भू–परिस्थितिको संयोजनले गुरुङखोलालाई धान उत्पादनको उदीयमान केन्द्र बनाउँदै लगेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २१ गते सोमवार
प्रतिक्रिया