सल्यान, २४ जेठ । सल्यानको त्रिवेणी गाउँपालिका–५ ढोरचौरमा लगाइएको मकैबालीमा किराको प्रकोप देखिएपछि किसानहरू चिन्तित बनेका छन्। यस वर्ष लगाइएको अधिकांश मकैबालीमा किराले आक्रमण गर्न थालेपछि बालीमा क्षति पुग्न थालेको स्थानीय कृषकहरूले बताएका छन्। स्थानीय किसानका अनुसार अहिले मकैबालीमा गोडमेल गर्ने समय चलिरहेका बेला अचानक किराको प्रकोप बढ्दै गएको छ।
किराले मकैको डाँठ काटिदिँदा बोटहरू सुक्न थालेका छन् भने उत्पादनमा समेत असर पर्ने चिन्ता बढेको स्थानीय कृषक मानबहादुर विकले बताउनुभयो । किराको आक्रमणका कारण धेरै मकैबाली नष्ट हुन थालेको उहाको भनाई छ । उहाँका अनुसार यस वर्ष लगाइएको अधिकांश मकैबालीमा क्षति पुगेको छ । जसले किसानलाई ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको कृषकहरुको भनाई छ ।
प्रभावित किसानहरूले त्रिवेणी गाउँपालिकाको कृषि शाखा तथा सम्बन्धित सरकारी निकायलाई तत्काल प्रभावित क्षेत्रको अनुगमन गरी किराको पहिचान, नियन्त्रण र आवश्यक सहयोगको व्यवस्था गर्न माग गरेका छन्। यता त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख सुसन गौतमले किसानहरूबाट यस विषयमा अहिले सम्म कुनै जानकारी नआएको बताउनुभयो। उहाँले यस बारे आवश्यक जानकारी लिने र सोमबार नै स्थलगत अनुगमन गरी किसानहरूको समस्या समाधानका लागि आवश्यक पहल थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।






