तुलसीपुर, ७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी पशुका लागी पोषण किट वितरण गरेको छ । सुत्केरी अवस्थामा रहेका पशुहरूको स्वास्थ्य सुधार र उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले पोषण किट वितरण गरिएको तुलसीपुर उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर मनोज ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार पशु सेवा शाखाको आयोजनामा आज एक कार्यक्रमका बिच सुल्केरी गाई–भैंसी पालक ६० जना किसानहरूलाई पोषण किट वितरण गरिएको हो । पोषण किटमा सुत्केरी पशुका लागि आवश्यक पोषक तत्वयुक्त दाना समावेश गरिएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख टिकाराम खड्काले मानिसलाई सुत्केरी भत्ता दिएझै पशुलाई पोषण किट वितरण गरिएको बताउनुभयो । पैशा दिदा पशुको आहारामै खर्च नहुन सक्ने भएकाले पोषण किट नै वितरण गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले पशु पालक किसानका लागी एउटा महत्वपुर्ण कार्यक्रमको सुरुवात गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा यसलाई अझै विस्तार गर्दै लैजाने उहाँको भनाई छ । पशुपालनलाई व्यवसायिक र लाभदायक बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेकोसमेत उहाँले बताउनुभयो । यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले सुत्केरी अवस्थामा उचित पोषण नपाउँदा पशु तथा बाछाबाछीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यस प्रकारका कार्यक्रम प्रभावकारी हुने विस्वास व्यक्त गर्नुभयो । किसानको मागको आधारमा अझै यसमा बजेट थप गर्दै लैजान सकिने पनि उहाँले बताउनुभयो । किसानहरूले उपमहानगरपालिकाले गरेको सहयोगले पशु स्वास्थ्य सुधारमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने माग गरेका छन् ।।



