२०८२ माघ २ गते शुक्रवार

काटेको धान भित्र्याउन र काट्न बाँकी रहेको धान नकाट्न सुझाव

तुलसीपुर, ११ कात्तिक । काटेको धान भित्र्याउन र काट्न बाँकी रहेको धान नकाट्न मौसम विभाग र कृषि विज्ञले सुझाव दिएका छन् । दाङमा आज विहानैदेखि हल्का वर्षा भैरहेकाले काटेको धान भित्रयाउन र बाँकी रहेको धानलाई नकाट्न कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी तथा कृषि अर्थविद् पृथ्वी लामिछानेले आग्रह गर्नु भएको छ । अहिले दाङका अधिंकास किसानहरुको धान खेतमै छ । कतिपय किसानले धान काटिसकेका छन् भने कतिपय किसानले धान काटेका छ्रैनन् ।

दाङको देउखुरी उपत्यकाका कृषकहरुले धान भित्र्याइसकेको भएपनि दाङ उपत्यकाका किसानहरुले धान भित्र्याउन पाएका छैनन् । नकाटेको धानमा खासै असर नपरे पनि काटेको धानमा असर पुग्ने कृषि अर्थविज्ञ लामिछानेले जानकारी दिनुभयो । ‘आज मात्रै यस्तै हल्का वर्षा भयो भने काटेको धानलाई पनि खासै असर गर्दैन । तर भोली पर्सी अर्थात २ । ३ दिन सम्म यस्तै वर्षा भयो भने धान विग्रन्छ । धानलाई पानीले धेरै असर गर्छ । दिुइदिन तिन दिन लगातार धान भिज्यो भने खेतमै उम्रिन थाल्छ ।’ उहाँले भन्नुभयो । त्यसैले सावधानी अपनाउनुपर्ने उहाँले सुझाव दिनुभयो । सिंचाइको सुविधा भएको ठाउँका किसानहरुले धान समयमै रोपेकाले समयमा नै भित्र्याइसकेका छन् । तर सिंचाइको सुविधा नभएको आकासे पानीको भरमा खेती गर्ने किसानहरुले अझै धान भित्रयाउन पाएका छैनन् ।

मौसम विज्ञान विभागले हिजो सोमबार नै तीन दिने मौसम पूर्वानूमान वुलेटिन जारी गर्दै मौसमबारे जानकारी दिइसकेको छ । सो जानकारीमार्फत मौसम विज्ञान विभागले किसानहरुलाई मौसमको बारेमा जानकारी लिएर मात्रै कृषिको काम गर्न आग्रह समेत गरेको छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लाको ६९ हजार ९५० हेक्टर खेतीयोग्य जमिनमध्ये ६५ हजार ९८० हेक्टर जमिनमा खेती हुने गरेको छ । कार्यालयका अनुसार जिल्लामा गतवर्ष एक लाख ५८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको थियो ।।

प्रकाशित मिति : २०८२ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया