तुलसीपुर, १२ मंसिर । मुक्ति समाज नेपालका केन्द्रीय अध्यक्ष मनोहर विक पौडेलले मुलुकमा राजनीतिक परिवर्तन र विकासले गति लिए पनि समाजमा विद्यमान जातीय विभेद, अपमान र असमानता अन्त्य हुन नसकेको बताउनुभएको छ । संसारको विकास र उन्नतिसँग तुलना गर्दा नेपाली समाजको चेतनास्तर अझै पछाडि रहेको उल्लेख गर्दै उहाँले समाजमा मानिस–मानिसबीचको विभेद कायमै रहनु दुःखद भएको बताउनुभयो । मुक्ति समाज नेपाल दाङ जिल्ला कमिटीको आज -शनिवार) तुलसीपुरमा आयोजित ११औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका पौडेलले विभेद, अपमान र कुसंस्कारयुक्त व्यवहार अन्त्य नभएसम्म सामाजिक न्याय र समानताको लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो ।
यस्ता विभेदकारी प्रवृत्तिविरुद्ध आफूहरूले निरन्तर आवाज उठाउँदै आएको उहाँको भनाइ थियो । कार्यक्रमका प्रमुख वक्ता एवं मुक्ति समाज नेपालका इन्चार्ज जितु गौतमले दलित समुदाय आफ्नो अधिकार प्राप्तिका लागि एकताबद्ध भएर संगठित हुनुपर्ने बताउनुभयो । उहाँले दलित समुदायले हरेक क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै नेतृत्वदायी भूमिकामा पुग्न सक्षम हुनुपर्नेमा जोड दिनुभयो । जिल्ला अध्यक्ष शंकर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कोमल ओली र घनश्याम पाण्डे, मुक्ति समाज नेपालका केन्द्रीय सचिव कल्पना बराल, केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सुरेन्द्र श्री विश्वकर्मा, नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य मित्रलाल बागचन्द र नेपाल दलित संघका लुम्बिनी प्रदेश सहसचिव खेमराज सेन्चुरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा मुक्ति समाज दाङका पूर्वअध्यक्ष मानबहादुर विश्वकर्मा र चूर्ण परियारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।जिल्ला उपसचिव तेजबहादुर विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव उमलाल विकले गर्नुभएको थियो । अधिवेशनअघि नेकपा एमालेको तुलसीपुरस्थित पार्टी कार्यालयबाट ¥याली निकालिएको थियो । अधिवेशनको बन्दसत्रले मुक्ति समाज दाङको नयाँ नेतृत्व चयन गर्नेछ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।