सल्यान,१२ मंसिर । सल्यानको छत्रेश्वरी गाउँपालिका–६ गर्चेमा निर्माण सम्पन्न भएको गर्चे खानेपानी तथा सरसफाइ योजनाको उद्घाटन गरिएको छ। शनिबार आयोजित विशेष समारोहमा गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले योजनाको उद्घाटन गर्नुभएको हो। खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्रीको विशिष्ट आतिथ्यता रहेको थियो।
उद्घाटन कार्यक्रममा अध्यक्ष बुढाथोकीले स्वच्छ खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले सबै नागरिकलाई सहज रूपमा खानेपानी उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता रहेको बताउनुभयो। उहाँले निर्माण सम्पन्न भएका योजनाको संरक्षण, नियमित सञ्चालन र दिगो व्यवस्थापनमा उपभोक्ताहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी, वडा नम्बर ६ का अध्यक्ष टिकराम बुढा, पूर्व खानेपानी अध्यक्ष दलबहादुर घर्ती, छत्रेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक वेगबहादुर भण्डारी, वास संयोजक दीपेन्द्र शाही, वास युनिटका कर्मचारी, स्थानीय जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
योजना सञ्चालनमा आएसँगै गर्चेका स्थानीय बासिन्दालाई स्वच्छ तथा सुरक्षित खानेपानी प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले स्थानीयस्तरमा सरसफाइ र स्वच्छतासम्बन्धी अभ्यास सुधार गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।