काठमाडौं,१० कात्तिक। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउन, भदौ र असोजमा कुल दुई लाख चार हजार २४८ जनाले श्रम स्वीकृति लिएका छन्।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा दुई लाख ७१६ जनाले श्रम स्वीकृति लिएका थिए। यसअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा श्रम स्वीकृति लिनेको संख्या तीन हजार ५३२ ले बढेको छ। विभागका अनुसार चालु आर्थिक वर्षको असोज महिनामा मात्रै ७३ हजार ७६५ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। तीमध्ये ६३ हजार ३७७ पुरुष र १० हजार ३८८ महिला छन्।
गत वर्षको असोजमा ५६ हजार ६२५ पुरुष र आठ हजार नौ महिलासहित कुल ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका थिए। यसरी गत वर्षको असोजको तुलनामा चालु वर्षको असोजमा श्रम स्वीकृति लिनेको संख्या नौ हजार १३१ ले बढेको छ। महिनागत विवरणअनुसार चालु आर्थिक वर्षको साउनमा ७० हजार ४४१, भदौमा ६० हजार ४२ र असोजमा ७३ हजार ७६५ जनाले श्रम स्वीकृति लिएका छन्। तीन महिनामध्ये असोजमा सबैभन्दा बढी र भदौमा सबैभन्दा कम व्यक्तिले श्रम स्वीकृति लिएका हुन्।
त्यस्तै, गत आर्थिक वर्ष २०८२र८३ को साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२ र असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका थिए। गत वर्षको तुलनामा यस वर्ष साउन र असोजमा श्रम स्वीकृति लिनेको संख्या बढेको छ भने भदौमा घटेको छ।
यसअघि आर्थिक वर्ष २०८१र८२ को पहिलो तीन महिनामा एक लाख ७० हजार ५९१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए। उक्त अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा श्रम स्वीकृति लिनेको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।