दाङ,१० कात्तिक । साउदी अरबको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले विशेष सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली नागरिकलाई अनुरोध गरेको हो। दूतावासले जारी गरेको पाँचबुँदे अनुरोधमा साउदी अरबका आधिकारिक निकायबाट जारी हुने सुरक्षा निर्देशन तथा सूचनाको पूर्ण पालना गर्न आग्रह गरिएको छ। विशेषगरी सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएका बेला अनावश्यक रूपमा बाहिर ननिस्कन र सम्बन्धित निकायका निर्देशनलाई गम्भीरतापूर्वक लिन भनिएको छ।
त्यस्तै, सामाजिक सञ्जालको प्रयोगमा विशेष सावधानी अपनाउन पनि दूतावासले नेपाली नागरिकलाई सचेत गराएको छ। साउदी अरबका आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, तस्बिर तथा भिडियो अरूलाई नपठाउन र फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न आग्रह गरिएको छ। अपुष्ट सामग्रीको प्रसारले सुरक्षा संवेदनशीलता बढाउन सक्ने भएकाले सूचना साझा गर्नुअघि त्यसको आधिकारिकता यकिन गर्न दूतावासले जोड दिएको छ।
हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई पनि दूतावासले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साउदी अरबबाट नेपाल वा अन्य मुलुकतर्फ यात्रा गर्नुअघि आफ्नो उडानको निर्धारित समय र तालिकामा कुनै परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र विमानस्थल जान सुझाव दिइएको छ।
दूतावासले सुरक्षा अवस्था थप संवेदनशील बनेमा वा अन्य कुनै कारणले सहयोग आवश्यक परेमा नेपाली नागरिकलाई रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ। साउदी अरबमा रहेका नेपाली नागरिकलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न, अनावश्यक हिँडडुल नगर्न र सुरक्षा निकायका निर्देशन पालना गर्दै सतर्क रहन दूतावासले अपिल गरेको छ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।