२०८३ कार्तिक ११ गते मङ्गलवार

लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खानसहित दुईजना पक्राउ

दाङ,१० कात्तिक । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध आन्दोलन गर्दै आएका लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खानसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले खानलाई सोमबार राति नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरी नियन्त्रणमा पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का ६१ वर्षीय अकराम खान र वडा नम्बर–९ का ३३ वर्षीय वाजिउद्दिन मुसलमान रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यता, महाअभियानका सहसंयोजक रामविकास चौधरीले भने संयोजक खानलाई मध्यरातमा घरमै सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको दाबी गरेका छन्। उनले घटनालाई आन्दोलन दबाउने प्रयासका रूपमा व्याख्या गर्दै प्रहरीको कदमप्रति आपत्ति जनाएका छन्। आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएदेखि नै महाअभियानले उक्त नियुक्ति खारेज गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ।।

प्रकाशित मिति : २०८३ कार्तिक ११ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।