बुटवल । रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले जानकारी दिए ।
बुटवलका विभिन्न क्षेत्रका आकाशमा लाखौँ देखिएको सलह कीरा अहिले बुटवलदेखि उत्तरपश्चिमतर्फ लागेको उनले जानकारी दिए । ‘यो सलह कीरा नै हो, यसले एक दिनमा आफ्नो तौल बराबरको हरियो बाली खाएर नोक्सान गर्छ’, सचिव सुवेदीले भने, ‘ठूलो सङ्ख्यामा आएको सलह कीरा बालीनालीमा बस्यो भने एकै रातमा पूरै सखाप पार्छ ।’
सलह जम्मा गरेर माछा, कुखुरा र बङ्गुरको दानाका लागि प्रयोग गर्न सकिने विज्ञले बताएका छन् । भूमि व्यवस्था मन्त्रालयले किसानले सलह जम्मा गरेर स्थानीय तहमार्फत वडा कार्यालयमा ल्याएमा प्रतिकिलो रु २० का दरले नगद उपलब्ध गराइने निर्णय गरेको मन्त्रालयका सचिव सुवेदीले जानकारी दिए ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।