२०८३ कार्तिक ११ गते मङ्गलवार

अर्गानिक कृषि प्रवद्र्धन र किसानको दक्षताको लागि तालिम

सल्यान, १० चैत ।  अर्गानिक खेतिलाई बढावा दिन र अगुवा कृषकलाई दक्ष बनाउन सल्यानको छत्रेश्वरी गाउँपालिकामा तालिम प्रदान गरिएको छ । अगुवा कृषकलाई दक्ष बनाई अन्य कृषकलाई पनि ज्ञान प्रदान गर्ने उद्देश्यले दुई दिने तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । अगुवा कृषकहरुलाई विषादीको प्रयोग विना कसरी रोग किरा नियन्त्रण गर्ने लगाएतका विषयमा तालिम प्रदान गरिएको गाउँपालिकाका नायव प्राविधिक सहायक दिपक पुनले जानकारी दिनुभयो । शनिबार तालिम समापन कार्यक्रममा बोल्दै छत्रेश्वरी ६ का वडा अध्यक्ष टिकाराम बुढाले विषादीको बढ्दो प्रयोगले मानिसको स्वास्थ्य र वातावरणमा नराम्ररी असर पारिरहेको भन्दै विषादीको प्रयोग न्यूनीकरणका लागि अर्गानिक खेती एक मात्र विकल्प भएको बताउनुभयो । यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजाराम रिजालले अगुवा कृषकहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्दै अर्गानीक खेतीतर्फ अग्रसर हुनुपर्ने भन्दै यसका लागी गाउँमा सचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । तालिममा सहभागि संघारमुलका अगुवा कृषक चन्द्रकला पुनले अन्न, फलफुल तथा तरकारी खेतीमा लाग्ने रोग किरा र त्यसको नियन्त्रणका लागि जैविक तरिकाको बारे धेरै महत्वपूर्ण जानकारी लिन पाइएको बताउनुभयो ।

यस्तै अर्का अगुवा कृषक चेतनाथ योगीले यस किसिमको तालिम किसानको बस्ती बस्तीमा सञ्चालन गर्नुपर्ने भन्दै आफुले सिकेको कुरा अन्य किसानलाई सिकाउने बताउनुभयो । बाली चक्र अपनाउँदै खेती प्रणाली सुधार गरेर तथा पासोको प्रयोग मार्फत रोग किरा नियन्त्रण गर्न सकिने गाउँपालिकाका कृषि स्नातक प्राविधिक महेश भण्डारीको भनाई छ । निम, टिमुर, सुर्तीको झोल, मल प्रयोग गरेर वनस्पतिक तरिकाले पनि बालीनालिका शत्रु जीव व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । ब्याक्टेरियाजन्य जैविक विषादी, रोगनाशक जैविक विषादी, भाइरसजन्य जैविक विषादी, ढुसीजन्य जैविक विषादी प्रयोग गर्ने सम्बन्धमा पनि किसानहरुलाई तालिममा अभिमुखिकरण गरिएको उहाँको भनाई छ । धान, गहुँ, मकै, काउली, आलु लगाएत सुन्तला जातका फलफुलमा लाग्ने रोग किरा व्यवस्थापन र कृषि विमाका बारेमा अगुवा कृषकलाई तालिम प्रदान गरिएको कृषि विकास शाखाले जनाएको छ । तालिम समापन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका सूचना प्रविधि अधिकृत मिलन वली, लेखापाल कमल बडुवाल, नायव प्राविधिक सहायक गणेश भण्डारी लगाएतको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार शंकर केसीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।