दाङका दुई कारागारका १२ जना कैदी बन्दीहरुको बाँकी कैद मिनाह

दाङ,३ असोज । संविधान दिवसको अवसरमा दाङका दुई कारागारका कैदी बन्दीहरुको बाँकी कैद मिनाह गरिएको छ । जिल्लामा रहेको घोराही र तुलसीपुर कारागारका गरी १२ जना कैदी बन्दीलाई कैद मिनाह गरिएको हो । जसमा तुलसीपर कारागारबाट ७ जना र घोराही कारागारबाट पाँच जनालाई कैद मिनाह भएको छ ।

घोराहीमा तीन जना कर्तव्य ज्यान, एक जना सवारी ज्यान र एक जना हातहतियार तथा खरखजनाका मुद्धाका कैदी बन्दीको कैद मिनाह भएको छ । त्यसैगरी तुलसीपुर कारागारबाट ६ जना कर्तव्य ज्यान मुद्धा र एक जना चोरी मुद्धाका कैदी बन्दी कैद मिनाह गरिएको छ । सरकारले हरेक विभिन्न दिवसको अवसरमा असल आचरण, ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदी बन्दीलाई रिहा गर्ने गरेको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई माफी र ५ सय २३ जनाको कैद कट्टा गर्नुभएको छ । कैद माफी र कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष गएको भदौ २९ गते सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार
प्रतिक्रिया