विकास निर्माणको समय थप गर्न निर्माण व्यवसायीको माग

काठमाडौ, २ जेठ । नेपाल निर्माण व्यवसायी महासङ्घले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण २०७७ कात्तिक मसान्तसम्म निर्माण अघि बढाउन नसकिने जनाएको छ ।महासङ्घ स्थायी समितिको बिहीबारको आकस्मिक बैठकपछि महासचिव रोशन दाहालले निकालेको विज्ञप्तिमा कोरोना महामारीसँगसँगै देखिएका विविध जटिलताका कारण हाल निर्माण आयोजना सञ्चालन गर्न नसकिने उल्लेख छ ।

महासङ्घले २०७६ चैत्रदेखि २०७७ कात्तिकसम्म निर्माण हुन नसकेको अवधिलाई दृष्टिगत गरी यसबीचका सम्पूर्ण विकास निर्माणका कामको म्याद स्वतः थप हुने व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेको छ ।व्यवसायीले बन्दाबन्दीको असहज परिस्थितिबीच पनि केही निर्माणस्थलमा सीमित जनशक्ति, निर्माण सामग्री र उपकरण पु¥याएको महासङ्घले जनाएको छ ।

थप जनशक्ति र उपकरण पुर्‍याउने तयारीमा रहेको अवस्थामा असहज आवागमनका कारण आयोजनाका निर्माणले निरन्तरता पाउन नसक्ने महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।जटिल परिस्थितिबीच त्यस्ता आयोजनालाई निरन्तरता दिएमा पनि आयोजनाको लागत अत्यधिक थप हुन गई साविकको लागतमा कार्य सम्पन्न गर्न नसकिने देखिएको हुँदा थप लागत समावेश गर्न र ती आयोजनाको काम हुन नसकेको अवधिको ओभरहेड स्वतः समावेश गरिदिने व्यवस्थाका लागि पनि महासङ्घले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया