सुर्खेत, २ कात्तिक। निर्माण सुरु भएको १५ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पूर्ण हुन सकेको छैन। विद्युत् उत्पादन र बाँके–बर्दियामा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढाइएको आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ। अब बाँकी काम २०८५ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर (सीडीई) भरत पाठकका अनुसार आयोजनाको वित्तीय प्रगति ६७ प्रतिशत छ। मुख्य सिभिल संरचना निर्माणमा भएको ढिलाइले अन्य निर्माण कार्यसमेत प्रभावित भएपछि आयोजना निर्धारित समयमा पूरा हुन नसकेको हो। ‘बाँकी काम सम्पन्न गर्न दुईदेखि तीन वर्ष लाग्ने अनुमान छ। अहिले निर्माणको गति बढाइएको छ,’ पाठकले भने।
आर्थिक वर्ष २०६८/६९ देखि तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना लामो समयदेखि निर्माणाधीन छ। सुरुङ निर्माणको काम निर्धारित समयभन्दा अगावै सकिए पनि बाँध, विद्युत्गृह, उपकरण जडान र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले आयोजना सञ्चालनमा आउन सकेको छैन।
सुरुङ तयार, बाँध र विद्युत्गृह अधुरै
आयोजनाको सबैभन्दा चुनौतीपूर्ण मानिएको १२.२० किलोमिटर लामो सुरुङ टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिबाट निर्माण सम्पन्न भइसकेको छ। तर, सुरुङ निर्माणपछि अघि बढ्नुपर्ने अन्य संरचनाको कामले अपेक्षित गति लिन नसक्दा समग्र आयोजना प्रभावित भएको छ।
आयोजना पाँचवटा मुख्य प्याकेजमा विभाजन गरेर निर्माण भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत सुरुङ निर्माण पूरा भएको छ भने दोस्रो प्याकेजमा बाँध, सर्ज साफ्ट, पेनस्टक र विद्युत्गृहलगायत सिभिल संरचना निर्माण गर्नुपर्नेछ।
दोस्रो प्याकेजको काम ग्वाङडोङ युआन्तियान र रमन जेभीले गरिरहेको छ। २०७६ साउन १३ गते सम्झौता भएको यस प्याकेजमा मुख्य बाँधका ६ संरचनामध्ये दुईवटा सम्पन्न हुने चरणमा छन्। सेटलिङ बेसिनको करिब ७० प्रतिशत काम सकिएको छ भने पेनस्टक पाइपका लागि एङ्कर ब्लक, विद्युत्गृह र सर्ज साफ्ट निर्माण जारी छ।
यी संरचना पूरा नहुँदा अन्य प्याकेजअन्तर्गतका उपकरण जडान र परीक्षणको काम पनि सहज रूपमा अघि बढ्न सकेको छैन।
उपकरण जडानमा पनि ढिलाइ
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत हाइड्रोमेकानिकल संरचना निर्माणको जिम्मा चीनको झेजियाङ ओरिएन्ट इन्जिनियरिङले लिएको छ। दुई अर्ब १३ करोड ७४ लाख ९३ हजार रुपैयाँ लागतको यस प्याकेजको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ। सम्झौताअनुसार २०८१ पुस ४ गतेभित्र सम्पन्न हुनुपर्ने काम भने अझै बाँकी छ।
त्यस्तै, चौथो प्याकेजअन्तर्गत इलेक्ट्रोमेकानिकल उपकरण जडानको जिम्मा पनि सोही कम्पनीले पाएको छ। तीन अर्ब २८ करोड रुपैयाँ लागत रहेको यस प्याकेजको भौतिक प्रगति ५५ प्रतिशत छ।
यस प्याकेजका टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर र ओभरहेड क्रेन उत्पादन भइसकेका छन्। अब आयोजनास्थलमा ती उपकरण जडान गरी परीक्षण र सञ्चालनको तयारी गर्नुपर्नेछ।
सिभिल संरचना निर्माणमा ढिलाइ भइरहँदा उपकरण जडान तथा परीक्षणको काम पनि प्रभावित हुने भएकाले बाँकी सबै निर्माण कार्यलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने चुनौती छ।
प्रसारण लाइन निर्माणका लागि वातावरणीय प्रक्रिया
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पाँचौँ प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माण गर्नुपर्नेछ। सुर्खेतको हात्तीखालस्थित विद्युत्गृहदेखि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनसम्म करिब एक हजार ७०० मिटर लामो लाइन निर्माण गर्ने योजना छ।
प्रस्तावित प्रसारण लाइनमा नौवटा टावर रहनेछन्। तीमध्ये तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा र छवटा मध्यवर्ती क्षेत्रमा पर्नेछन्। त्यसैले प्रसारण लाइन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनसहित आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।
प्रसारण लाइन निर्माणको प्रक्रिया टुंगोमा नपुगेसम्म आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रणालीमा जोड्ने कामसमेत प्रभावित हुन सक्छ।
५१ हजार हेक्टरमा वर्षैभरि सिँचाइ, ४६.८ मेगावाट विद्युत्
भेरी–बबई आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ। यसले कृषि उत्पादन र उत्पादकत्व बढाउनुका साथै किसानलाई वर्षायामको पानीमा मात्र निर्भर रहनुपर्ने अवस्थाबाट राहत दिने अपेक्षा गरिएको छ।
आयोजनाअन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका–११, चिप्लेमा भेरी नदीमा बाँध निर्माण गरी पानीलाई सुरुङमार्फत बबई नदीमा खसालिनेछ। योजनाअनुसार ११४ मिटर लामो ब्यारेज, १५८ मिटर लामो डिसेन्डिङ बेसिन र ४.२ मिटर व्यासको १२.२० किलोमिटर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी स्थानान्तरण गरिनेछ।
हात्तीखालस्थित विद्युत्गृहबाट ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। यसरी एउटै आयोजनाबाट सिँचाइ सुविधा विस्तार र विद्युत् उत्पादन दुवै लाभ प्राप्त गर्ने योजना बनाइएको हो।
३३ अर्ब लागत, वार्षिक सात अर्बभन्दा बढी लाभको अनुमान
आयोजनाको अद्यावधिक गुरुयोजनाअनुसार कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ अनुमान गरिएको छ। आयोजना पूरा भएपछि विद्युत् उत्पादनबाट वार्षिक चार अर्ब तीन करोड रुपैयाँ र सिँचाइ सुविधाबाट तीन अर्ब १२ करोड रुपैयाँ बराबरको आर्थिक लाभ प्राप्त हुने अनुमान छ।
यसअनुसार विद्युत् उत्पादन र सिँचाइ दुवैबाट वार्षिक कुल सात अर्ब १३ करोड रुपैयाँ बराबरको लाभ हासिल गर्ने लक्ष्य राखिएको छ।
तर, आयोजनाको सुरुङ निर्माण सम्पन्न भए पनि बाँध, विद्युत्गृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडान र प्रसारण लाइन निर्माणको काम पूरा हुन बाँकी छ। यी सबै संरचना तयार भएपछि मात्रै आयोजना पूर्ण रूपमा सञ्चालनमा आउनेछ।
२०८५ असारभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य पूरा गर्न निर्माण व्यवसायीको कार्यसम्पादनमा सुधार, बाँकी सिभिल संरचनाको निर्माण, उपकरण जडान र प्रसारण लाइनसम्बन्धी प्रक्रिया समयमै पूरा गर्नुपर्ने देखिन्छ। निर्माणमा थप ढिलाइ भएमा आयोजनाबाट अपेक्षित सिँचाइ र विद्युत् उत्पादनको लाभ प्राप्त गर्ने समय पनि पछाडि धकेलिनेछ।




















टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।