२०८३ असोज ३ गते शनिवार

तुलसीपुर–१५ मा भू–उपयोग क्षेत्र निर्धारणको तयारी, सडक आसपास आवासीय क्षेत्र बनाउने प्रस्ताव

तुलसीपुर ३ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ मा भू–उपयोग क्षेत्र निर्धारण तथा अव्यवस्थित भूमिहीन र सुकुम्बासीसम्बन्धी विषयमा छलफल गरिएको छ।

वडा कार्यालयमा शुक्रबार वडा अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा बसेको बैठकले वडाभित्रको भू–उपयोग क्षेत्रलाई व्यवस्थित गर्ने विषयमा छलफल गर्दै विभिन्न निर्णय गरेको हो।

बैठकमा वडाका मुख्य सडकको दायाँ–बायाँ ५० –५० मिटर क्षेत्रभित्र पर्ने जग्गालाई आवासीय क्षेत्रमा समावेश गर्ने र त्यसबाहेकका जग्गालाई कृषि क्षेत्रमा समावेश गर्ने गरी प्रस्ताव तयार पार्ने विषयमा छलफल भएको थियो।

त्यस्तै, पौरा–कोठरी सडक, हेमन्तपुर–परुवा–कोठरी–डुरुवा सडक, बिजौरी–डुरुवा सडक, बिजौरी–मलवार सडक तथा कोठरी–धमकापुर सडक लगायतका सडकको हकमा दायाँ–बायाँ ३० – ३० मिटर क्षेत्रलाई आवासीय क्षेत्रमा राखी बाँकी जग्गालाई कृषि क्षेत्रमा समावेश गर्ने विषयमा छलफल गरिएको छ।

बैठकले अव्यवस्थित भूमिहीन तथा सुकुम्बासीसम्बन्धी पेश भएका फाराममा टोल विकास संस्थाको नाम छुटेको भए आवश्यक विवरण सच्याउन तथा जग्गासम्बन्धी कागजात अपुग भएका सेवाग्राहीलाई आवश्यक कागजात पूरा गर्न सम्बन्धित टोल विकास संस्थामार्फत जानकारी गराउने निर्णयसमेत गरेको छ।

भू–उपयोग क्षेत्र निर्धारण गर्दा स्थानीय बस्ती, सडकको पहुँच, कृषि क्षेत्र तथा भूमिहीन र सुकुम्बासीका समस्यालाई समेत ध्यानमा राखेर प्रक्रिया अघि बढाउने विषयमा बैठकमा छलफल भएको थियो।

बैठकमा वडा सदस्य सीता कुमारी लामिछाने, मंगलसेन डेमनडौरा, रास्वपाका  प्रतिनिधि सचिन पौडेल, नेपाली कांग्रेसका प्रतिनिधि शरद धिताल, नेकपा एमालेका प्रतिनिधि रूपलाल चौधरी पत्रकार महासंघ   दाङका उपाध्यक्ष ओपेंद्र बस्नेतलगाएत  विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, बुद्धिजीवी र वडा सचिव नर्मदा पोख्रेलको उपस्थिति रहेको थियो।

बैठकले भू–उपयोगसम्बन्धी विषयलाई थप व्यवस्थित गर्दै आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।