तुलसीपुर, १२ असोज । अविरल वर्षाका कारण ग्वारखोला पुलको पूर्वी भाग भासिएर सडक अवरुद्ध भएपछि तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि पुल सञ्चालनमा ल्याउन सक्रिय भएका छन् । पुल अवरुद्ध हुँदा तुलसीपुर–घोराही आवतजावतमा समस्या भएपछि जनप्रतिनिधिले स्थलगत निरीक्षण गरी तत्काल पुल सञ्चालन वा वैकल्पिक मार्गको व्यवस्था गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत पर्ने ग्वारखोला पुलको पूर्वी भाग भासिएपछि उक्त सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ । अहिले सवारीसाधनहरू तुलसीपुरको राप्ती बबई क्याम्पसको बाटो हुँदै वडा नम्बर १८, बकुलाई हुँदै बिजौरी निस्केर घोराही जाने गरेका छन् ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख माधव वली र विपद् व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीसहितको टोलीले ग्वारखोला पुल र वैकल्पिक सडकको अवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ । निरीक्षणका क्रममा टोलीले पुल निर्माण गरिरहेको सगुन कन्स्ट्रक्सन प्रालिका प्रतिनिधिलाई तत्काल पुल सञ्चालनमा ल्याउन वा डाइभर्सन निर्माण गरी यातायात सुचारु गर्न निर्देशन दिएको छ ।
उक्त निर्देशनपछि निर्माण कम्पनीले असोज १७ गतेभित्र पुल एकतर्फी रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको विपद् व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीले जानकारी दिनुभयो ।
पुल अवरुद्ध हुँदा प्रयोग भइरहेको वैकल्पिक सडकसमेत जीर्ण र खाल्डाखुल्डीका कारण जोखिमपूर्ण बनेपछि उपमहानगरपालिकाले त्यसको मर्मतसम्भार गरेको छ । राप्ती बबई क्याम्पसदेखि वडा नम्बर १८ हुँदै बकुलाई र बिजौरी जोड्ने सडकमा रहेका खाल्डाखुल्डी पुर्ने तथा सडक मर्मत गर्ने काम गरिएको हो ।
वैकल्पिक सडकको अवस्था सुधार गरी नागरिकको आवतजावत सहज बनाउने र ग्वारखोला पुल छिटो सञ्चालनमा ल्याउने उद्देश्यले अनुगमन तथा मर्मतको काम गरिएको उपमहानगरपालिकाले जनाएको छ । निरीक्षण तथा अनुगमन टोलीमा नेपाल प्रहरी, नगर प्रहरीलगायतको सहभागिता रहेको थियो।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।