दाङ, १५ असोज । रोल्पाका दर्जनौँ बस्ती एक सातादेखि अन्धकारमा छन् । अविरल वर्षाका कारण विद्युतका पोल ढलेर असोज ९ गतेदेखि विद्युत् सेवा अवरुद्ध भए पनि समयमै मर्मत हुन नसक्दा जिल्लाका विभिन्न गाउँका हजारौँ नागरिक विद्युत् सेवाबाट वञ्चित भएका हुन् ।
रुन्टीगढी गाउँपालिकाका डूबरिङ, निगालपानी, सिमपानी, सुर्पाल, बलबाङलगायत दर्जनौँ गाउँमा अझै विद्युत् सेवा नियमित हुन सकेको छैन । लामो समयसम्म विद्युत् नहुँदा घरायसी कामकाजदेखि विद्यार्थीको पढाइ र सञ्चार सेवासमेत प्रभावित भएको स्थानीयले बताएका छन् ।
रुन्टीगढी गाउँपालिका–६ निगालपानीकी सीता पुनका अनुसार असोज ९ गते साँझदेखि गाउँमा विद्युत् आएको छैन । मोबाइल फोन चार्ज गर्नसमेत स्थानीयलाई होलेरी बजार पुग्नुपर्ने अवस्था आएको छ ।
“असोज ९ गते साँझदेखि घरमा बिजुली आएको छैन । मोबाइल सबै अफ भइसकेका छन् । छोराछोरीको पढाइसमेत प्रभावित भएको छ । रातको समयमा बिजुली नहुँदा झन् ठूलो समस्या भएको छ,” पुनले भन्नुभयो ।
विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयको दैनिकीसँगै सञ्चार सम्पर्कसमेत प्रभावित भएको छ । मोबाइल चार्ज गर्नकै लागि होलेरी बजार पुग्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । यता नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रले अधिकांश स्थानमा विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको र बाँकी स्थानमा प्राविधिक टोली परिचालन गरिएको जनाएको छ ।
प्राधिकरणका सुपरभाइजर उच्चतम बुढामगरका अनुसार तिला, दहवन, खर्से र होलेरी क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको छ । बाँकी क्षेत्रमा पनि प्राविधिक टोलीले काम गरिरहेको र आज साँझसम्म विद्युत् सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा दर्जनौँ विद्युत् पोल ढलेर लाइन अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । भौगोलिक विकटता तथा वर्षाका कारण प्रभावित क्षेत्रमा पुगेर मर्मत गर्न समय लागेको प्राधिकरणको भनाइ छ ।
तर, एक सातासम्म विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयको दैनिकीसँगै बालबालिकाको पढाइ, मोबाइल सञ्चार र अन्य अत्यावश्यक सेवा प्रभावित भएकाले विद्युत् सेवा तत्काल नियमित गर्न स्थानीयले माग गरेका छन् ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।