२०८३ कार्तिक ९ गते आइतवार

मूर्ति विसर्जन गर्ने क्रममा उच्छृङ्खल गतिविधि गर्ने ५ जना पक्राउ

फोटो फाईल

कपिलवस्तु ८ कात्तिक । कपिलवस्तुको कृष्णनगरमा दुर्गा मूर्ति विसर्जनका क्रममा साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पुर्‍याउने प्रकृतिका उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले शनिवार पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार कृष्णनगर नगरपालिका–२ स्थित दुर्गा मूर्ति विसर्जनका क्रममा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने तथा साम्प्रदायिक र धार्मिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका–१ सेमरा निवासी २३ वर्षीय बिक्की भन्ने विकास यादव, सोही स्थानका १८ वर्षीय गान्धी चौहान र १८ वर्षीय सुनिल चौहान रहेका छन्।

त्यस्तै कृष्णनगर नगरपालिका–१ मदरनिया निवासी १९ वर्षीय आर्यन मिश्र र कृष्णनगर नगरपालिका–११ रामनगर (कर्मानगंज) निवासी २६ वर्षीय हरि नारायण पाल रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले मूर्ति विसर्जनका क्रममा प्रयोग भएको रुटका विभिन्न स्थानमा साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पुग्ने प्रकृतिका उच्छृङ्खल गतिविधि प्रदर्शन गरिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले संलग्न व्यक्तिहरूको पहिचान गरी निरन्तर खोजतलास गरेको थियो। उनीहरूलाई पक्राउ गरी कानुन बमोजिम आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक ९ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।