दाङ,१४ मंसिर । लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको १९ दशमलव ६३ प्रतिशत नागरिक बिमाको दायरामा आबद्ध भएका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार लुम्बिनी प्रदेशको कुल जनसङ्ख्यामध्ये १९ दशमलव ६३ प्रतिशत नागरिकले बिमा गरेका छन् । लुम्बिनीको कुल जनसङ्ख्यामध्ये १९ दशमलव ६३ प्रतिशत नागरिक विभिन्न बिमामा आबद्ध भएको, जसमध्ये अधिकांशले जीवन बिमा गरेको र म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बिमा लेखबाहेक जम्मा १४ दशमलव ४५ प्रतिशत नागरिक बिमाको दायरामा आएको बताइएको हो ।
नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक शिवराज बिसीले चालु आर्थिक वर्षको असोज महिनासम्म तीन महिनाको अवधिमा लुम्बिनीमा ८ अर्ब ५३ करोड ६३ लाख ८८ हजार रुपियाँ बिमा शुल्कबापत सङ्कलन भएको छ । जसमध्ये ७ अर्ब ४३ करोड १७ लाख २२ हजार जीवन बिमा र एक अर्ब १० करोड ४६ लाख ६६ हजार रुपियाँ निर्जीवन बिमा शुल्कबापत सङ्कलन भएको हो । उहाँले ११ लाख ६०३ जना जीवन बिमा र १ लाख २५ हजार ८३३ जना निर्जीवन गरी कुल १२ लाख २६ हजार ४३६ जना बिमामा आबद्ध भएको बताउनुभयो । त्यसैगरी जीवन बिमातर्फ ७ हजार ४५८ र निर्जीवनतर्फ ५ हजार २८१ गरी १२ हजार ७३९ जना बीमितले बिमा दाबी भुक्तानी गरेका थिए । जीवन बिमातर्फ १ अर्ब २६ करोड ८० लाख ८३ हजार ६०२ रुपियाँ र निर्जीवनतर्फ १० अर्ब ७२ करोड ३ लाख ४२ हजार ९९४ गरी कुल ११ अर्ब ९८ करोड ८४ लाख २६ हजार ५९६ रुपियाँ दाबी भुक्तानी गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार जीवन बिमातर्फ व्यतित बिमालेख सङ्ख्या १ लाख ९१ हजार ३०६ र सरेण्डर बीमालेख सङ्ख्या ३ हजार ६१८ रहेको छ । उहाँले मुलुकभरको जीवन बिमामा लुम्बिनी प्रदेशको १४.७६ प्रतिशत हिस्सा रहेको जानकारी दिनुभयो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनबाट भएको क्षतिबाट दाबी भुक्तानीका लागि लुम्बिनीमा २५६ वटा निवेदन परेको बताउनुभयो । २५६ वटा बीमितले ४९ करोड ३० लाख ८० हजार रुपियाँ दाबी भुक्तानी माग गरेकोमा अग्रिम भुक्तानीसमेत गरेर १० करोड ९५ लाख ८३ हजार रुपियाँ भुक्तानी गरिएको उहाँको भनाइ छ ।

