दाङ,१९ मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुरले यस वर्ष एक करोड ४४ लाखबढीको धान खरिद गरेको छ । कार्यालयले दाङका तीन स्थानीय तहबाट एक करोड ४४ लाख ८९ हजार आठ सय नौ रुपैयाँ बराबरको धान खरिद गरेको छ । कम्पनीले लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका दुई सय १२ जना किसानसँग धान खरिद गरेको सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभयो । कम्पनीले कार्तिक २३ गतेदेखि मंसिरको पहिलो सातासम्म जिल्लामा पाँच हजार क्वीन्टल धान खरिद गर्ने कोटा अनुसार चार हजार एकसय ८३ क्वीन्टल २० केजी धान खरिद गरेको तर खरिदमा केही प्रतिशत अझै अपुग भएको सूचना अधिकारी डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘खाद्यलाई जिल्लामा अझै आठ सय १६ क्वीन्टल ८० केजी धान अपुग भएको छ ।’
खाद्यले गढवा गाउँपालिकामा ७५ जना किसानबाट दुई हजार तीन सय ५४ क्वीन्टल ४० केजी धान खरिद गरेको छ । त्यसगैरी लमही नगरपालिकामा एकसय १३ जना किसानबाट एक हजार चार सय ९२ क्वीन्टल धान खरिद गरेको छ भने राप्ती गाउँपालिकामा तीन सय ३६ क्वीन्टल ८० केजी धान खरिद गरेको छ । दाङमा केन्द्रबाट मोटो धान खरिदका लागि परिपत्र भएको तर अधिकांश किसानले मसिनो धान खेती गर्ने र मोटो धान खेती गरेकाले पनि बिक्री गर्दा लक्ष्यअनुसार धान खरिद गर्न नसकिएको बताउनुभयो । खाद्यले जिल्लामा सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य तीन हजार चारसय ६३ रुपैयाँ ८१ पैसामा धान खरिद गरेको हो । खाद्यले दाङमा गतवर्ष आठ हजार क्वीन्टल धान खरिद गरेको थियो ।

