२०८२ मङ्सिर १९ गते शुक्रवार

५ सय रुपैयाँको विवादले खोस्यो रुकुमकी १८ वर्षीया आयुषाको जीवन

काठमाडौँ— रुकुम घर भएकी १८ वर्षीया माया मगर (आयुषा) नयाँ बसपार्कमा फालिएको अवस्थामा फेला परेपछि खुलेको तथ्यहरूले उनका अभिभावक र गाउँ–ठाउँका आफन्त स्तब्ध बनेका छन्। सामान्य गरीब परिवारकी छोरी माया रोजगारीका लागि काठमाडौँमा बस्दै आएकी थिइन्। तर, उनको जीवन राजधानीको अपराधको भुमरीमा यति क्रूर रूपमा अन्त्य हुन्छ भनेर कसैले कल्पना पनि गरेका थिएनन्।

शनिबार सरसफाइका क्रममा झाडीमा भेटिएको तन्नामा बेरेको शव पहिचान गर्दा मृतक रुकुमकी आयुषा भएको पुष्टि भयो। मृतकसँगै रहेकी साथी डोल्मा बोम्जन र कान्छी आमाले पनि सनाखत गरे। प्रहरीका अनुसार कात्तिक २३ गते राति होटल रोयल कुण्डलामा पुगेकी आयुषाको होटलका कुक सूर्य थापा मगरसँग ५ सय रुपैयाँको विवाद भएपछि हत्या गरिएको हो।

ब्राउन सुगर किन्ने भन्दै लिएको ५ सय फिर्ता नदिँदा सूर्यले जुत्ताको तुनाले घाँटी कसेर र मुक्का प्रहार गरी हत्या गरेको अनुसन्धानले देखाएको छ। हत्या गरिएकाे शव उनले ४ दिनसम्म बेडमुनि लुकाए। कात्तिक २६ गते राति शवलाई तन्ना र प्लास्टिकमा बेरेर बाहिर फाल्न लैजाँदै गरेको दृश्य होटलको सीसीटीभीमा पनि कैद भएको प्रहरीले जनाएको छ।

शव बेरेको तन्नामा रहेको १४५५ नम्बरको ट्यागले अनुसन्धानको ढोका खोलिदियो। यो तन्ना होटलकै भएको पुष्टि भएपछि कुक सूर्यलाई बसपार्कनजिकै खाजा पसलबाट पक्राउ गरिएको हो। उनलाई ७ दिन हिरासतमा राखी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया