२०८२ मङ्सिर १९ गते शुक्रवार

दाङमा अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने १८ वटा सवारीसाधन नियन्त्रणमा

तुलसीपुर, १९ मंसिर ।  दाङ जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा ढुङ्गा तथा बालुवा उत्खनन् तथा ओसारपसार गर्ने १८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंसिर १ गतेदेखि हालसम्म सञ्चालन गरेको विशेष चेकजाँच क्रममा अवैध उत्खनन् गर्दै गरेका ती सवारी साधनहरू नियन्त्रणमा लिएको हो । जसअन्र्तगत १३ वटा ट्याक्टरबाट २ लाख २० हजार रुपैयाँ, ३ वटा टिप्परबाट १ लाख २७ हजार ५ सय ४० रुपैयाँ, २ वटा जेसीबीबाट ९० हजार गरी जम्मा ४ लाख ३७ हजार ५ सय ४० रुपैयाँ जरिवाना असुल गरिएको छ ।

कारबाहीपछि आवश्यक कानुनी प्रक्रिया पुरा गरी सवारी साधनहरू सम्बन्धित धनीको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले अवैध नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसारले वातावरणीय क्षति, नदी कटान र जनधनको जोखिम बढाउने हुँदा यस्ता गतिविधि विरुद्ध कडाइका साथ निगरानी र कारबाही निरन्तर जारी रहने जनाएको छ ।।

 

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया