तुलसीपुर, १२ मंसीर । दाङमा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर एमालेभित्रै तीव्र असन्तुष्टि चुलिएको छ । लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले १० हजार ६ सय सदस्यको हक अधिकार हत्याउने गैर–सङ्गठित खेल” भएको भन्दै केन्द्रिय संगठन विभागमा निवेदन पेश गर्नु भएको छ । आगामी मंसिर २७, २८ र २९ गते हुने ११ औं राष्ट्रिय महाधिवेशनका लागि दाङबाट प्रतिनिधि छनोट विधान, नियम र तोकिएको मापदण्ड पूर्ण रूपमा लत्याएर पदाधिकारीहरूले मनपरी शैलीमा अघि बढाएको भुसालको आरोप छ ।
भुसालद्वारा दर्ता गरिएको निवेदनमा भनिएको छ— “दाङका पदाधिकारीहरूले निर्वाचनको विधि, मापदण्ड र संगठन विभागको निर्देशिकालाई कुल्चेर आफूखुसी प्रतिनिधि छान्ने प्रयास गरिरहेका छन् । यो प्रक्रिया निष्पक्ष, लोकतान्त्रिक र वैधानिक कुनै पनि मापदण्डमा मेल खाँदैन ।” आफूसहित इच्छुक कमरेडहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिन पाउने वातावरण सिर्जना गर्न, तोकिएको विधिअनुसार निर्वाचन समिति गठन गरी महाधिवेशन प्रतिनिधि छनोटको उचित व्यवस्था मिलाइदिन समेत उहाँले माग गर्नुभएको छ ।
भुसालले संगठन विभाग सहित नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी र दाङ जिल्ला कमिटीलाई समेत बोधार्थ पठाउनु भएको छ । एमाले महाधिवेशन प्रतिनिधिका लागि दाङबाट भोलि २२ जना प्रतनिधि छनौट गरिदै छ । संगठित सदस्यका आधारमा दाङ निर्वाचन क्षेत्र नं ३ बाट महिला २, खुल्ला ४ र युवाबाट एक जना सहित ७ जना, क्षेत्र नं २ बाट पनि महिला २, खुल्ला ४ र युवाबाट एक जना सहित ७ जना र क्षेत्र नं १ बाट २ महिला, २ खुल्ला र एक जना युवबाट प्रतिनिधि छनौट गरिने छ । त्यसैगरी ३ जना दलितबाट प्रतिनिधि छनौट गरिने छ । प्रतिनिधि छनौटका लागि करिब एक सय ५० बढीले पदाधिकारीलाई नाम टिपाएका छन् । यता एमाले दाङका पदाधिकारीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।


