२०८३ साउन १३ गते बुधवार

दाङबाटै सुरु भयो नयाँ प्रणालीमार्फत लाइसेन्स नवीकरण, देशमै पहिलो सेवा प्रदान

 तुलसीपुर, १३ साउन । देशभर नयाँ प्रणाली कार्यान्वयनका क्रममा अधिकांश यातायात कार्यालयको सेवा प्रभावित भइरहेका बेला दाङले भने नयाँ प्रविधिमार्फत सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण सेवा सफलतापूर्वक सुरु गरेर उदाहरण प्रस्तुत गरेको छ। यातायात व्यवस्था कार्यालय दाङले साउन १ गतेदेखि लागू भएको नयाँ EDLVRS प्रणालीमार्फत लाइसेन्स नवीकरण सेवा सञ्चालनमा ल्याएको हो।

प्राविधिक चुनौतीका कारण देशका अन्य कार्यालयमा सेवा अवरुद्ध भइरहेका बेला दाङ कार्यालयले भने नयाँ प्रणाली सफलतापूर्वक कार्यान्वयन गर्दै सेवाग्राहीलाई सेवा दिन थालेको जनाएको छ। नयाँ प्रणालीबाट सेवा लिने नेपालकै पहिलो सेवाग्राही जयबहादुर पुन बनेका छन्। हालसम्म चार जना सेवाग्राहीले यस प्रणालीमार्फत लाइसेन्स नवीकरण गरिसकेका छन्, जसलाई नयाँ प्रणालीको सफल सुरुवातका रूपमा हेरिएको छ।

कार्यालयका कम्प्युटर अधिकृत वीरेन्द्र घर्तीका अनुसार नयाँ प्रणालीमा रूपान्तरणका क्रममा देशभर प्राविधिक समस्या देखिए पनि दाङ कार्यालयले आवश्यक तयारी र प्राविधिक व्यवस्थापनका कारण सेवा नियमित रूपमा सञ्चालन गर्न सफल भएको हो। उनका अनुसार EDLVRS प्रणालीको प्रयोगसँगै आगामी दिनमा लाइसेन्स नवीकरण सेवा अझ छिटो, पारदर्शी, व्यवस्थित र सेवाग्राहीमैत्री बन्ने अपेक्षा गरिएको छ। नयाँ प्रणालीले सेवा प्रवाहलाई डिजिटल, प्रभावकारी र विश्वसनीय बनाउँदै यातायात सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने कार्यालयको विश्वास छ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार
प्रतिक्रिया