२०८२ मङ्सिर १९ गते शुक्रवार

देउवाको उत्तराधिकारी बन्न दर्जन नेताको दौडधुप

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन मिति टुंगो लागेसँगै सभापति र महामन्त्रीसहितका महत्वपूर्ण पदमा उम्मेदवारी घोषणादेखि प्रचार र प्यानल निर्माण कसरत सुरु भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवादेखि कोइराला र नेतृत्व हस्तान्तरण पक्षधरका प्यानल र प्रचारले तीव्रता पाएको छ । नेपाली कांग्रेसको १३औं र १४औं महाधिवेशनबाट लगातार दुई कार्यकाल सभापति भएका शेरबहादुर देउवा पार्टी विधानअनुसार १५औं महाधिवेशनमा पुनः सभापति हुन पाउँदैनन् ।

जेनजी आन्दोलनका क्रममा पनि देउवालाई टार्गेट गरिएपछि उनले पुनः सभापति नहुने घोषणा नै गरिसकेका छन् । देउवानिकट मानिने नेताहरूले आफूलाई उत्तराधिकारी प्रमाणित गर्दै सभापतिमा उम्मेदवारी दिने तयारी थालेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आउँदो २६ देखि २८ पुसमा १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, डा. शेखर कोइराला, केन्द्रीय सदस्य कल्याण गुरुङसहितका नेताले १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणासहित आन्तरिक तयारीमा जुटेका छन् ।

यस्तै, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइराला, तथा पूर्वसहमहामन्त्री एवं वर्तमान प्रवक्ता डा. प्रकाशशरण महतसहितका नेता समेत सभापतिमा उम्मेदवारी दिने ’दयगतमा आफूनिकटका नेताहरूसँग छलफलमा छन् ।

नेताहरू सभापति देउवाको ‘आशीर्वाद’सहित संस्थापन पक्षको आधिकारिक सभापतिको उम्मेदवार हुन खोजेका छन् । देउवासँग भेटघाट गरेका यी नेतालाई देउवाले स्पष्ट रूपमा समर्थन गरेका छैनन् । तर, साझा उम्मेदवार टुंगो लगाएर आउन र त्यस्ता साझा उम्मेदवारलाई आफ्नो समर्थन रहने देउवाले जवाफ दिएको एक कांग्रेस नेताले जनाएका छन् ।

‘सभापति शेरबहादुर देउवासँग आगामी सभापतिको उम्मेदवारका विषयमा हामीले एक्लाएक्लै र सामूहिक रूपमा भेटघाट र छलफल गरेका छौं, सभापतिज्यूले कसैलाई समर्थन गरेको अवस्था छैन, उहाँले तपाईंहरूले नै साझा उम्मेदार टुंगो लगाएर आउनुस् भन्नुभएको छ, तपाईंहरूले टुंगो लगाएको उम्मेदवारलाई नै मेरो पनि समर्थन रहन्छ, हामी पनि साझा उम्मेदवार टुंगो लगाउनेगरी छलफल गरिरहेका छौं, अब छिट्टै नै टुंगो लगाउनेछौं,’ देउवालाई भेट्न गएका सभापति पदका एक आकांक्षीले भने ।

पार्टीको विधानअनुसार लगातार दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाउने व्यवस्थाअनुसार देउवा आफैं तेस्रो कार्यकालका लागि सभापति हुन पाउँदैनन् । १३औं र १४औं महाधिवेशनबाट सभापति भएपछि देउवाले अब आफूनिकट रहेका नेतालाई नै समर्थन गरेर अगाडि बढ्ने ती नेताले जनाएका छन् ।

देउवानिकट मानिने नेता निधिले संस्थापन पक्षबाट एक साझा उम्मेदवार दिइने जनाएका छन् । ‘आफूहरूको छलफल निरन्तर चलिरहेको छ, हामीले संस्थापन पक्षबाट साझा उम्मेदवार टुंगो लगाएर अगाडि बढ्नेछौं, सबैलाई समेटेर एक बलियो कांग्रेस बनाउने ’दयगतमा समेत हामी छलफलमै छौं,’ निधिले भने ।

महाविधेशनबाट सभापतिका लागि सबैभन्दा पहिला डा. शेखर कोइरालाले उम्मेदवारी घोषणा गर्दै तयारी थालेका छन् । कोइरालाले झन्डै १ वर्षअघि धनगढीमा आयोजित एक कार्यक्रममार्फत १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । सोहीअनुसार उनले आन्तरिक तयारीसमेत थालेका छन् ।

कोइरालाले यसअघि १४औं महाधिवेशनमा देउवासँग सभापति पदमा प्रतिस्पर्धा गरेका थिए । एकै चरणको निर्वाचनमा सभापति पदको टुंगो लाग्न सकेन । दुई चरणमा मतदान हुँदा कोइराले देउवासँग कडा प्रतिस्पर्धा गरे । दोस्रो चरणको निर्वाचनमा देउवाले २ हजार ७ सय ३३ मत पाएर विजयी भए भने कोइरालाले १ हजार ८ सय ५५ मत ल्याएका थिए ।

यस्तै, १४औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेर २२ मत ल्याएका कल्याण गुरुङले पुनः सभापति पदमा प्यानलसहित उम्मेदवारी दिने घोषणा गरेका छन् ।

‘सभापति पदमा उम्मेदवारी दिन्छु, यसपटक मैले पुरै प्यानलसहित नै उम्मेदवारी दिनेगरी तयारी थालेको छु, साथीहरूको सहयोगमै सभापति भएर पार्टीलाई बलियो र सशक्त बनाउने योजना मेरो छ,’ सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै गुरुङले भने । १४ आंै महाधिवेशनको दोस्रो चरणमा देउवालाई समर्थन गरेको बताउँदै उनले यसपटक देउवाले पनि आफूलाई समर्थन गर्ने विश्वास व्यक्त गरे ।

कांग्रेस नेता निधि र सिंहले १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका थिए । तर, पहिलो चरणको निर्वाचनबाट बाहिरिएका निधि र सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई नै समर्थन गरेका थिए । अर्का नेता सिटौला १३औं महाधिवेशनमा सभापतिको उम्मेदवार बने पनि १४औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार मात्रै भए । गच्छदार र महत अहिलेसम्म सभापतिको उम्मेदवार नभए पनि १५औं महाधिवेशनमा उम्मेदवारी दिने विषयमा छलफल गरिरहेका छन् ।

कोइराला परिवारको साझा उम्मेदवार शेखर
१५औं महाधिवेशनमा सभापति पदमा कोइराला परिवारबाट एक जना मात्रै उम्मेदवार हुनेगरी छलफल भइरहेको छ । कोइराला परिवारबाट शेखर कोइराला, शशांक कोइराल, सुजाता कोइराल सक्रिय राजनीतिमा छन् ।

कोइराला परिवारभित्रै नेताहरू एकजुट हुन नसक्दा पार्टी सत्ताबाट किनाराकृत हुँदै आइरहेका नेताहरू १५औं महाधिवेशनमा एकजुट भएर कोइराला परिवारबाट साझा उम्मेदवार दिनेगरी शेखरलाई अगाडि बढाउने तयारी भइरहेको छ ।

शशांकले आफू पनि सभापतिको उम्मेदवार भए पनि यसपटक दाइ शेखरलाई नै अगाडि बढाउनेगरी छलफल भइरहेको खुलासा गरेका छन् । सुजातासहित सबैको सहमतिमा शेखरलाई सभापतिमा विजयी बनाउनेगरी आफूहरू लाग्ने र सोहीअनुसार छलफल भइरहेको शशांकले बताए ।

शेखर समूहमै रहेका गगनकुमार थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् । सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थापालाई पनि मिलाएर अगाडि बढ्ने विषयमा शेखरले छलफल थालेका छन् । जसरी पनि सभापति हुने दौडमा रहेका थापालाई सम्मानजनक जिम्मेवारीसहित साथमै लिएर अगाडि बढ्ने शेखरले जनाएका छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया