दाङ, ३० भदौ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ स्थित तीनकुने चोकमा आइतवार जेनजी युवा पुस्ताले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन् ।कार्यक्रमका सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरेका थिए ।
साथै आन्दोलनका क्रममा घाइते भएका युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको योगदानलाई समेत स्मरण गरेका थिए । श्रद्धाञ्जली कार्यक्रमसँगै युवाहरूले जेनजी आन्दोलनलाई सामाजिक न्याय, समानता र परिवर्तनको संघर्षको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा युवा तथा समाजका विभिन्न वर्गका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
यसअघि कार्यक्रममा सहभागी युवाहरूले तीनकुने चोक वरपर सरसफाई समेत गरेका थिए । सरसफाई मार्फत सामाजिक सचेतना अभिवृद्धि गर्ने र समाजमा स्वच्छता र सकारात्मक सन्देश फैलाउने उद्देश्य रहेको छ । श्रद्धाञ्जली कार्यक्रमकै अवसरमा तीनकुने चोकलाई औपचारिक रूपमा “जेनजी चोक” नामाकरण गरिएको छ । युवाहरूले यो नामाकरण नयाँ पुस्ताको पहिचान र संघर्षको प्रतीकका रूपमा रहने बताएका छन् ।
उनीहरूका अनुसार “जेनजी चोक” केवल भौगोलिक स्थानको नाम मात्र नभई नयाँ पुस्ताले बोकेको सपना, आस्था र आन्दोलनको प्रतीक हो । स्थानिय बासिन्दाले पनि नामाकरणलाई स्वागत गर्दै यसले भालुवाङ मात्र नभई सम्पूर्ण क्षेत्रको गौरव बढाउने विश्वास लिएका छन् ।






