२०८३ असार २८ गते आइतवार

लुम्बिनीका पत्रकारहरू बालकेन्द्रित पत्रकारिता सिक्दै

भालुवाङ २८ असार । बालबालिकाको अधिकार, सुरक्षा, संरक्षण तथा उनीहरूका विषयमा संवेदनशील र जिम्मेवार पत्रकारिता प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी प्रदेशका पत्रकारहरूका लागि दुई दिने बाल अधिकार तथा बालकेन्द्रित पत्रकारिता कार्यशाला सुरु भएको छ। पिस नेपालद्वारा सेभ द चिल्ड्रेन इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमारा स्थित होटल इभरल्याण्डमा आइतबार देखि कार्यशाला सञ्चालन गरिएको हो।

पिस नेपालका कार्यकारी निर्देशक मणिप्रसाद गैरैको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंको प्रमुख आतिथ्यतामा कार्यशालाको उद्घाटन गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईंले बालबालिका वर्तमानका मात्र होइनन्, राष्ट्रका भविष्यका आधार स्तम्भ भएको उल्लेख गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। उहाँले पत्रकारहरूलाई बालबालिकासँग सम्बन्धित समाचार संकलन, सम्पादन र प्रकाशन–प्रसारण गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्नुभयो।

“बालबालिकासँग सम्बन्धित विषयमा समाचार बनाउँदा उनीहरूको गोपनीयता, सुरक्षा र सम्मानलाई उच्च प्राथमिकता दिनुपर्छ,” उहाँले भन्नुभयो, “एक असावधानीपूर्ण समाचारले बालबालिकाको जीवनमा दीर्घकालीन असर पार्न सक्छ, त्यसैले पत्रकारहरूले बालमैत्री पत्रकारिताका मापदण्डलाई आत्मसात गर्न आवश्यक छ।” उहाँले पछिल्लो समय सञ्चार माध्यमको पहुँच र प्रभाव बढ्दै गएको सन्दर्भमा पत्रकारहरूले बाल अधिकारको संरक्षण, प्रवद्र्धन र सचेतना अभिवृद्धिमा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा पिस नेपालका कार्यकारी निर्देशक मणिप्रसाद गैरैले बाल अधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न निकाय, सञ्चारकर्मी र सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाको हितलाई केन्द्रमा राखेर सञ्चार सामग्री उत्पादन गर्न पत्रकारहरू सक्षम बनून् भन्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बाल अधिकारसँग सम्बन्धित विषयहरूलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठान गर्दा नीति निर्माण तहसम्म सकारात्मक प्रभाव पार्न सकिन्छ। साथै बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, श्रम शोषण, बेचबिखन तथा अन्य अधिकार उल्लंघनका घटनाहरूलाई जिम्मेवार ढंगले सार्वजनिक गर्नु पनि पत्रकारहरूको महत्वपूर्ण दायित्व रहेको उहाँले बताउनुभयो। कार्यशालाको पहिलो दिन विभिन्न विषयगत सत्रहरू सञ्चालन गरिएको थियो। पिस नेपालका बाल अधिकार संयोजक विजयकुमार अधिकारीले बाल अधिकारका आधारभूत सिद्धान्त, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धि तथा नेपालमा बाल अधिकारको वर्तमान अवस्थाबारे सहजीकरण गर्नुभयो।

त्यसैगरी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले बाल पत्रकारिताका सवाल, सञ्चारमाध्यमको भूमिका, बालमैत्री सामग्री उत्पादन र बालबालिकाको सहभागितामूलक पत्रकारिताबारे प्रशिक्षण दिनुभयो। नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष तथा बाल सहजकर्ता दुर्गालाल केसीले “बालकेन्द्रित पत्रकारिता, बाल अधिकार संवेदनशीलता र हाम्रो दायित्व” विषयमा सहजीकरण गर्दै बालबालिकासँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा पालना गर्नुपर्ने नैतिक आचारसंहिता, गोपनीयता संरक्षण, पीडित बालबालिकाको पहिचान गोप्य राख्ने विषय तथा सकारात्मक कथावस्तु निर्माणका पक्षहरूबारे विस्तृत जानकारी गराउनुभयो।
केसीले बालबालिकालाई समाचारको विषय मात्र नभई अधिकारयुक्त नागरिकका रूपमा हेर्नुपर्ने धारणा राख्दै उनीहरूको आवाजलाई सञ्चारमाध्यममा सम्मानपूर्वक स्थान दिनुपर्ने बताउनुभयो। उहाँले पत्रकारितामा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर कार्य गर्नुपर्नेमा जोड दिनुभयो। बाल अधिकारका लागि नागरिक संस्थाहरूको सञ्जाल लुम्बिनी प्रदेशकी सदस्य गीता अर्यालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन पिस नेपालका बाल अधिकार संयोजक विजयकुमार अधिकारीले गर्नुभएको थियो। दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यशालामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट समावेशिताका आधारमा दुई–दुई जना पत्रकारको सहभागिता रहेको छ।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतवार
प्रतिक्रिया