सल्यान १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि विपद्मा परेकाहरूको सहयोगका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ। यसैक्रममा सल्यानका शिक्षक नेत्रलाल भट्टराई (नारायण) ले आफ्नो व्यक्तिगत खर्च कटाएर प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ।
श्री त्रिभुवन जनता माध्यमिक विद्यालय, छत्रेश्वरी–६, भोटेचौर, सल्यानका सहायक प्रधानाध्यापक तथा विज्ञान शिक्षकसमेत रहनुभएका भट्टराईले विपद्को समयमा सरकारको अपिललाई आत्मसात गर्दै राहत कोषमा सहयोग गर्नुभएको हो।
भट्टराईले “थोपा–थोपा मिलेर समुद्र बन्दछ” भन्ने भावनालाई आत्मसात गर्दै मानवीय सेवामा आफ्नो तर्फबाट सानो भए पनि योगदान गर्ने उद्देश्यले उक्त रकम जम्मा गर्नुभएको बताउनुभएको छ।उहाँले “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मान्यतालाई व्यवहारमै उतार्दै विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउन सहयोग गरेको बताउनुभएको छ।सरुवा पीडित केन्द्रीय संघर्ष समितिका केन्द्रीय संयोजकसमेत रहनुभएका भट्टराईको यो सहयोगले विपद्का बेला व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवीय सेवामा जुट्नुपर्ने सन्देश दिएको छ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवा क्षेत्रमा ठूलो क्षति पुर्याएपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न आह्वान गरेको छ। यस्तो कठिन परिस्थितिमा नागरिक, संघसंस्था तथा विभिन्न क्षेत्रबाट राहत कोषमा सहयोग गर्ने क्रम बढिरहेको छ।भट्टराईले आफ्नो व्यक्तिगत खर्चमा कटौती गरेर गरेको १० हजार रुपैयाँको सहयोग रकमले आर्थिक रूपमा ठूलो योगदानभन्दा पनि विपद्मा एकअर्काको साथमा उभिनुपर्ने मानवीय भावना र सामाजिक उत्तरदायित्वको महत्त्व झल्काएको छ।





