तुलसीपुर, २ भदौ । ग्रिन फाउण्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले खेतबारी बाँझो राखेर समृद्धि प्राप्त गर्न नसकिने बताउनुभएको छ । आज तुलसीपुरमा भएको कृषी वन उद्यम र समृद्धिमा सहकारीको भुमिका विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय मानिसहरु कुरा ठुला गर्ने तर, काम नगर्ने प्रवृति हाबी हुदै गएको भन्दै उहाँले समृद्धि प्राप्तीका मेहनतसँगै फाइदा हुने ठाउँमा लगानी लगाउनुपर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अथिति समेत रहनुभएका अध्यक्ष पाण्डेले सहकारीको माध्यमबाट स्थानिय उत्पादनको बजारीकरण गर्न सकिनेमा समेत जोड दिनुभएको छ । यसका लागी कृषी वन उद्यमी र विभिन्न सहकारी संस्थाको बिचमा आवश्यक समन्वय र सहकार्य हुन जरुरी रहको उहाँले बताउनुभयो ।
एउटा सहकारीले उत्पादन गरेको बस्तुलाई अर्को सहकारीले विक्री गर्न सक्ने गरी सबै सहकारीहरु एकआपसमा समन्वयात्मक रुपमा अगाडी बढ्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले स्थानिय उत्पादनको बजारीकरणमा धेरै समस्या रहेको बताएका छन् । किसानले उत्पादन गरेको कुनैपनि सामाग्री विक्री गर्दा त्यसको लागत मुल्य नै नउठ्ने अवस्था रहेको उनीहरुको भनाई छ । यसले गर्दा स्थानिय उत्पादनले बजारमा सहज रुपमा प्रतिष्पर्धा गर्न सक्ने अवस्था नरहेको भन्दै कार्यक्रममा उपस्थित सहकारी संस्थाका प्रतिनिधि र वन समुहका पदाधिकारीहरुले सबैले सहकार्य गरी बघि बढ्न सके सहज हुनेमा जोड दिएका छन् । ग्रिन फाउण्डेसन नेपाल दाङका अध्यक्ष विष्णु केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव जित बहादुर खड्काले गर्नुभएको थियो ।।