काठमाण्डौ, १० फागुन । स्याङ्जाको एक वडाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवम् प्रवर्द्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच हजार रुपैयाँ अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले जानकारी दिनुभयो । हाते ट्र्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि वडाले अभियानका रुपमा हल गोरु पाल्ने किसानलाई अनुदान दिने नीति अगाडि सारेको उहाँले बताउनुभयो ।
वडाभित्र ५०/७० हल गोरु हुनसक्ने वडाको अनुमान छ । किसानले गोठमा हलगोरुसँग स्पष्ट देखिने गरी खिचेको तस्बिर, एकीकृत सम्पत्ति कर तिरेको रसिद, कृषि प्रयोजनका लागि एक महिनाअघि हलगोरुको व्यवस्था गरेको स्वघोषणा गरेको हुनुपर्ने वडासचिव डोलजङ्ग गुरुङले बताउनुभयो । वडा कार्यालयले किसानको गोठमा हल गोरुपालन गरे नगरेको, स्थानीय टोलबासी तथा जनप्रतिनिधिको स्थलगत अनुगमनपछि मात्रै अनुदान दिइने सचिव गुरुङले बताउनुभयो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।