भालुवाङ ८ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले यस वर्ष पनि तिहारमा देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । संस्थाका अध्यक्ष दिवस आचार्यको अध्यक्षतामा राप्ती गाउँपालिका १ भालुवाङ स्थित आफ्नै कार्यालयमा बसेको कार्यसमितिको बैठकले हिन्दुहरूको दोस्रो ठुलो महान् पर्व दिपावलीको अवसरमा संस्कृति जगेर्ना गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । साथै देउसी भैलोबाट संकलन भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने गरि कार्तिक २२ गते देखि २८ गते सम्म र मंसिर ४ गते एकादशीका दिन मौलिक देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले भैलोलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न समितिहरू समेत गठन गरेको छ । जसमा संस्थाका अध्यक्ष आचार्यको संयोजकत्वमा भैलो परिचालन तथा यातायात समिति गठन गरिएको छ । त्यस्तै सचिव पवित्रा विश्वकर्माको संयोजकत्वमा साँस्कृतिक समिति, सहकोषाध्यक्ष शिवराज भुसालको संयोजकत्वमा आर्थिक र अनुशासन समिति, महासचिव लोकमणी भुसालको संयोजकत्वमा बाध्यवादन समिति, साधारण सदस्य दिपक शर्माको संयोजकत्वमा कार्तिके दान संकलन समिति, संस्थापक अध्यक्ष सुर्यकिरण केसीको संयोजकत्वमा खाजा व्यवस्थापन समिति गठन गरिएको छ ।
त्यस्तै प्रेस संयोजक ओमप्रकाश गुप्ता र महासचिव लोकमणी भुसाललाई उद्घोषकको जिम्मेवारी तोकिएको छ । देउसीभैलोबाट संकलित रकमबाट खर्च कटाएर बचेको रकम मध्ये ५० प्रतिशत सामाजिक क्षेत्रमा, २५र२५ प्रतिशत संस्थाको कोष र मनोरञ्जनमा खर्च गरिने निर्णय गरिएको संस्थाका अध्यक्ष दिवस आचार्यले जानकारी दिनुभयो । बैठकको सहजीकरण सचिव पवित्रा विश्वकर्माले गर्नुभएको थियो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।