सल्यान, ९ फागुन । पशुपालन व्यवसाय प्रवद्र्धनका लागि सल्यानको त्रिवेणी गाउँपालिकाले विगत देखी नै लगानी गर्दै आएको छ । वडा स्तरमै पुगेर पशु स्वास्थ्य सेवा दिइरहेको गाउँपालिकाले बुधबार वडा नम्बर ६ को भुम्केज्यूलामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरबाट १ सय ३३ किसान परिवार लाभान्वीत भएको त्रिवेणी गाउँपालिकाका पशु विकास शाखा प्रमुख वसन्त रावतले जानकारी दिनुभयो । पशु चौपायाको चेकजाँच, उपचार, बन्ध्याकरण, खोप सेवा संगै बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका औषधि वितरण गरिएको उहाले बताउनुभयो ।
किसानले पालेका १ सय २६ वटा गाई गोरु, ६ वटा भैसी, ९ सय ६४ बाख्रा, १ हजार ५ सय ८२ कुखुरा र २ वटा बंगुरलाई निशुल्क उपचार तथा औषधी वितरण गरिएको थियो । यस्तै २३ कुकुरलाई रेविज खोप लगाइएको र ७ बोकाको बन्ध्याकरण गरिएको पनि पशु सेवा शाखा प्रमुख रावतले बताउनुभयो । शिविर उद्घाटन कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले शिविरले आफ्नै ठाउँमा पशुपालक किसानहरु प्रत्यक्ष लाभान्वित भएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । ६ नम्बर वडा अध्यक्ष मनोज शाहले पशुपालन व्यवसायबाट मनग्य आर्थिक लाभ लिन सकिने भन्दै यो व्यवसायलाई प्रवद्र्धन गर्दै लैजानुपर्ने र किसानहरु पनि जागरुक बन्नुपर्नेमा जोड दिनुभयो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।