सल्यान, १७ माघ । सल्यानको कपुरकोट गाउँपालिकामा ब्यबसायिक रुपमा बन्दा र काउली खेती गर्ने किसानलाई घाटा नहुने भएको छ । गाउँपालिकाको पहलमा भूमि ब्यबस्था,कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले बन्दा र काउलीमा न्यूनतम समर्थन मूल्यमा सहयोग गर्ने कार्यक्रम लागु गरे पछि घाटा नहुने भएको हो । कपुरकोट गाउँपालिकामा बन्दा र काउली खेती गर्ने किसानले समर्थन मूल्य पाउनका लागि २०८० माघ २८ गते भित्र कृषि बिकास कार्यालय सल्यानमा सुचिकृत हुनु पर्ने छ । सुचिकृत हुन चाहाने किसानले खेती गर्ने बालीको नाम,बालीको जात,खेती गर्ने जग्गाको क्षेत्रफल,बाली लगाउने मिति,अत्पादन हुने अनुमानित मिति,किलोमा हुने अनुमानित उत्पादन सहितको बिबरण पेश गर्नु पर्ने कपुरकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो । न्यूनतम समर्थन मूल्य सहयोग कार्यक्रममा सुचिकृत हुनका लागि खेती बिबरण सहितको निबेदन, समूह, सहकारीको हकमा योजना उत्पादन स्पष्ट खुलेको निर्णयको प्रतिलिपि, समूह, हकारी, नीजि फर्मको हकमा दर्ता प्रमाण पत्रको प्रतिलिपि, कर चुक्ता प्रमाण पत्र वा कर छुट भएमा सो को प्रतिलिपि अनिबार्य पेश गर्नु पर्ने वलीको भनाई छ ।
यो बर्षबाट लागु हुने गरी कर्णाली प्रदेशका भूमि ब्यबस्था,कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले दिएको जानकारी अनुसार बन्दामा प्रति किलो १० रुपैया र काउलीमा प्रति किलो १४ रुपैया न्यूनतम समर्थन मूल्य निर्धारण गर्न लागिएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो । न्यूनतम समर्थन मूल्यमा सहयोग गर्ने कार्यक्रम लागु भए पछि निर्धारण गरिएको भन्दा कम मुल्यमा बन्दा र काउली बजारमा बिक्रि हुने अवस्था आएमा लगानी र बजारमा बिक्रि भएको बिचको मूल्य बिचको रकम किसानले पाउने उपाध्यक्ष भण्डारीको भनाई छ । तर बन्दा र काउलीमा समर्थन मूल्य पाउनका लागि किसानले एक रोपनी भन्दा बढि खेती गर्नु पर्ने कृषि बिकास कायालय सल्यानले निकालेको सुचनामा उल्लेख छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।