सल्यानमा ५९ जना उत्कृष्ट र व्यवसायीक कृषक पुरस्कृत

सल्यान, १९ जेठ । सल्यानमा ५९ जना कृषक पुरस्कृत भएका छन् । जिल्लाको कालिमाटी गाउँपालिकाले शुक्रबार ५९ जना कृषकलाई सम्मान संगै पुरस्कृत गरेको हो । तरकारी, नगदे तथा मह उत्पादक र वितरकलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत ९ जना कृषकलाई उत्कृष्ट व्यवसायीक कृषक सम्मान र अध्यक्ष कृषक सम्मान कार्यक्रम अन्तर्गत ५० जना कृषकलाइ व्यवसायीक कृषकको रुपमा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

टनेल भित्र तथा टनेल वाहिर तरकारी खेती गरेका, फलफुल बगैचा संगै खेती गरेका, माछापालन, मौरीपालन गरेका कृषकहरुलाई सम्मान र नगद पुरस्कारबाट पुरस्कृत गरिएको कृषि विकास शाखा प्रमुख बुद्धि बहादुर वलीले जानकारी दिए । वडा नम्बर ३ स्थित गाउँपालिकाको सभाहलमा कृषक सम्मान र कृषि विकास सम्बन्धी वृहत अन्तरक्रिया तथा राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको उनले बताए ।

कृषकहरुलाई सम्मान गर्दै कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले हरेक किसान अवदेखी निर्वाहमुखी नभइ व्यवसायमुखी खेती प्रर्णालीमा लाग्नुपर्नेमा जोड दिए । एक महिनाको अवधि दिएर सूचना प्रकाशित गरी व्यावसायिक रुपमा लागेका किसानको घरदैलोमा स्थलगत रुपमा प्राविधिक मूल्यांकन मार्फत छनौट भएका कृषकहरुलाई सम्मान र प्रोत्साहन गरिएको उनले बताए । अध्यक्ष केसीले भने, ‘कृषकलाई हौसला दिन, उत्पादन बढाएर आयआर्जनका क्रियाकलापमा संलग्न गराउन, किसानबीच स्वच्छ प्रतिस्पर्धा गराउनका लागि हामीले यस प्रकारको कार्यक्रम गरेका हौँ । अन्तरक्रियामा आएका सुझाव अनुसार कृषि क्षेत्रको विाकासका लागि आगामी नीति तथा कार्यक्रम तय गर्नेछौँ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले परम्परागत कृषि प्रणालीलाई सुधार गर्दे व्यवसायीक र आधुनिक प्रणालीमा रुपान्तरण गर्न स्वयम किसानहरु सबैभन्दा बढी जागरुक बन्नुपर्ने र यसमा गाउँपालिकाको लगानी हुने बताए । वृहत अन्तरक्रिया कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराई, नेपाली काग्रेसका टोप बहादुर खत्री, नेकपा एमालेका केशर बुढा, माओवादी केन्द्रका शालिकराम भट्टराई, राप्रपाका आनन्द बुढा मगर, स्थानीय बुद्धिजिवी शेरबहादुर वली लगाएत विभिन्न कृषक समूह, सहकारीका प्रतिनिधीले कृषि क्षेत्रको विकासको लागि राय सुझाव दिएका थिए ।

कुन वडामा के उत्पादन हुन्छ, त्यसको अध्यनगरेर पकेट क्षेत्र बनाउनुपर्ने, समयमै मल, विउ तथा प्राविधिक सेवा उपलब्ध गराउनुपर्ने, किसानलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तर लैजानुपर्ने लगाएतका सुझाव सहभागिहरुले दिएको कृषि विकास शाखाले जनाएको छ । गाउँपालिकाको आर्थिक विकास समिति तथा कार्यपालिका बैठकबाट निर्णय भए अनुसार तोकिएको मापदण्डको आधारमा कृषकहरुलाई सम्मानपत्र, दोसल्लाले सम्मान र प्रोत्साहन रकमबाट पुरस्कृत गरिएको कृषि शाखाले जनाएको छ ।

शाखाका अनुसार मापदण्डको आधारमा प्रति कृषक ४ हजार देखी २० हजार सम्मा प्रोत्साहन रकम र कार्यक्रममा सहभागि कृषकहरुलाई यातायात खर्च वापतको रकम उपलब्ध गराइएको हो । कार्यक्रममा वडा अध्यक्षहरुले मन्तव्य राख्दै सम्मानित भएका किसानहरुले टोल छिमेकका अन्य घरपरिवारलाई समेत कृषि पेशामा आबद्ध गराउन पहल गर्नुपर्ने बताएका थिए । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीले गरेका थिए ।

भाहलको उद्घाटन

यसैविच कालिमाटी गाउँपालिकाले निर्माण गरेको सभाहलको शुक्रबार उद्घाटन गरिएको छ । वडा नम्बर ३ मा निर्माण गरिएको सभाहलको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले उद्घाटन गरेका हुन् । १७० जना अट्ने सभाहलको अध्यक्ष केसीले शिलालेख अनावरण गरेर समुद्घाटन गरेको योजना तथा प्रशासन शाखा प्रमुख यज्ञ बहादुर खत्रीले जानकारी दिए । आर्थिक वर्ष २०७८।०७९ को योजना अन्तर्गत वडा नम्बर ३ को कार्यालय नजिकै सभाहल निर्माण गरिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १९ गते शुक्रवार
प्रतिक्रिया