दाङ, ९ कात्तिक । दाङ जिल्ला उद्योग वाणिज्य संघले प्रतिनिधिसभा सदस्यद्वय नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकी र नेपाली कम्युनिस्ट पार्टीकी भीमकुमारी बुढामगरलाई स्वागत तथा सम्मान गरेको छ। संघका अध्यक्ष ध्रुवकुमार गहतराजको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्लाको औद्योगिक विकास, पर्यटन प्रवर्द्धन र व्यवसायीका समस्याबारे छलफल गरिएको हो। कार्यक्रममा वक्ताहरूले दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्न सांसदद्वयलाई आग्रह गरेका थिए। त्यस्तै, स्वर्गद्वारी जाने सडकलाई व्यवस्थित र स्तरीय बनाउँदै धार्मिक पर्यटक भित्र्याउन तथा धार्मिक अनुष्ठान सञ्चालनका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए।
व्यवसायीलाई त्रसित बनाउनेभन्दा पनि सहजीकरण गर्ने गरी बजार अनुगमन गर्न, उद्योग तथा व्यवसाय दर्ता र नवीकरणका लागि एकद्वार प्रणाली लागू गर्न तथा चर्को कर घटाउनसमेत उनीहरूले सुझाव दिएका थिए। जवाफमा सांसदद्वयले जिल्लाको विकास र व्यवसायीका समस्या समाधानका लागि पूर्ण रूपमा समर्पित भएर सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले संसद्, संसदीय समिति र नागरिकका काममा सहजीकरण गर्न आफूहरू तयार रहेको बताएका छन्।
जिल्लाको विकासका लागि आवश्यक योजना, माग तथा सुझाव स्पष्ट रूपमा पठाउन आग्रह गर्दै सांसदद्वयले सम्बन्धित निकायमा पहल गर्न आफूहरू तयार रहेको धारणा राखेका थिए। कार्यक्रममा संघका पूर्वअध्यक्ष नारायणप्रसाद भुसाल, उद्योग उपाध्यक्ष गेहेन्द्र बस्नेत, सहकोषाध्यक्ष शालिकराम आचार्य र सदस्य गोपाल खनाललगायतले जिल्लाको औद्योगिक तथा व्यावसायिक विकासका विषयमा धारणा राख्नु भएको थियो ।संघका वरिष्ठ उपाध्यक्ष महेन्द्र बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव भीमसेन डिसीले गर्नुभएको थियो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।